Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


शेयर बेच्न नक्कली अंशबन्डा ! (भिडियाे रिपोर्ट)


1.7k
Shares

काठमाडाैं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएका व्यवसायी सुलभ अग्रवालले आफू अध्यक्ष रहेको जीवन बिमा कम्पनीको करोडौँ रुपैयाँ बराबरको शेयर गैर कानुनी बाटोबाट विक्री गरेको खुलेको छ ।

धितो पत्र बोर्डले गरेको छानबिनबाट अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सको शेयर विक्री गर्न घरमै नक्कली अंशबन्डा समेत गराएको समेत खुलासा भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवालले आप्mनै नेतृत्वमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सको करोडौँ रुपैयाँको शेयर गैर कानुनी रूपमा बिक्री गरेको खुलेको छ ।

धितो पत्र बोर्डले गरेको छानबिनबाट हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष रहँदा अग्रवाल र उनको परिवारको मिलेमतोमा धितो पत्र ऐन विपरित करोडौँ रुपैयाँ बराबरको लाखौं कित्ता शेयर बिक्री गरेको खुलेको हो । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष रहेका अग्रवालले आफ्नो नाममा रहेको शेयर विक्री गर्न नमिल्ने भएपछि छोरालाई अंश बापत शेयर नामसारी गरिदिएर शेयर विक्री गरेको खुलासा भएको छ ।

सुलभ अग्रवालले ८ लाख तिन हजार ३१ कित्ता शेयर अंशबन्डा भन्दै छोरा कृषव अग्रवालको नाममा सारेर विक्री गरेको खुलेको हो । त्यसका लागि सुलभको परिवारबिच जिल्ला अदालत काठमाडौँमा अंश सम्बन्धी मुद्दा नै चलाएर मिलापत्र भन्दै छोरा कृषवको नाममा अंश बापत उक्त परिमाणको शेयर नामसारी गरिएको थियो । २०८२ साल जेठ २० गते बाबु सुलभ अग्रवालले छोरा कृषव अग्रवाललाई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर घरायसी नामसारी भन्दै ८ लाख ३ लाख ३१ कित्ता दिएकोमा कृषवले २०८२ साउन ८ देखि २२ गते सम्ममा उक्त शेयर ३४ करोड ४२ लाख रुपैयाँमा बिक्री गरेका थिए ।

उक्त शेयर विक्री गर्ने क्रममा हिमालय लाइफ इन्स्योरेन्सको शेयरको बजार मूल्य समेत प्रभावित भएको पनि अनुसन्धानबाट देखिएको छ । शेयर विक्रीबाट आएको रकम मध्ये ३२ करोड २३ लाख रुपैयाँ २०८२ साल असोज ७ गते इन्भेस्टमेन्ट मेगा बैंकमा रहेको छोरा कृषव अग्रवालको खातामा जम्मा गरिएको थियो । तर त्यसको तीन दिन पछि अर्थात असोज १० गते २३ करोड रुपैयाँ बुवा सुलभ अग्रवालकै खातामा पुगेको पनि अनुसन्धानबाट देखिएको छ ।

जसले सुलभ अग्रवाल र उनीहरूको परिवारले हिमालयन लाइफ इन्स्योरेन्सको शेयर गैर कानुनी रूपमा बिक्री गर्नकै लागि अंशवण्डादेखि सबै प्रपञ्च रचेको धितो पत्र बोर्डकै छानविन प्रतिवेदनले देखाएको छ । जीवन बिमा कम्पनी स्थापना गरेर एउटै परिवारले ठुलो कित्ता शेयर हडप्ने र गैर कानुनी बाटोबाट शेयर बेचेर कसरी रकम कुम्ल्याउने गर्दछन् भन्ने यो एउटा ज्वलन्त उदाहरण हो ।

सुलभले अवैध बाटोबाट आर्जन गरेको रकममाथि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । उनीमाथि विवादित व्यवसायी दीपक भट्टसँग जोडिएका कारोबारहरूमा पनि अनुसन्धान भइरहेको छ । अग्रवालकै जगदम्बा स्टिल कम्पनी खाताबाट ४५ करोड अवैध रूपमा दीपक भट्टको खातामा गएको विषय यस अघि नै खुलिसकेको छ । भट्टलाई पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकै हिरासतमा राखेर अनुसन्धान भइरहेको हो ।