Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


सहकारीको अर्बाैं रकम दुरूपयोग गर्ने ९ जना इन्टरपोलको खाेजीमा (भिडियाे रिपाेर्ट)

दुई वर्षदेखि जीवि राई इन्टरपोलको रडार बाहिर !

4.9k
Shares

काठमाडाैं । सुशीला कार्की नेतृत्वको सरकारकी महान्याधीवक्ता सविता भण्डारीले सहकारीको रकम अपचलनको आरोप लागेकाहरुमाथि लगाइएको सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय गरेपछि विवादमा पर्नुभएकाे छ ।

विषेश गरेर अधिकांश सहकारी रकम ठगी गर्नेहरु निजी व्यवसायमा लगानी गरेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै मुलुक नै कालोसूचीमा पर्ने जोखिम रहेकाले तत्कालिन महान्याधीवक्ताको निर्णय विवादमा तानिएको हो । त्यो मध्यको एक थिए जीवी राई । राई मात्रै होइन सहकारीको अरवौं रकम ठगेर फरार भएकाहरु नेपाल बाहिर देखिएका छन् ।

सहकारीको रकम अपचलन सम्बन्धि संसदीय छानविन विषेश समितिले २०८१ सालमा बुझाएको प्रतिवेदन अनुसार ४० सहकारीको करिब ८३ अर्ब जोखिममा देखिएको थियो । तर सहकारीमा वचतकर्ताले राखेको पैसा दूरुपयोग गर्दै विना धितो निजी व्यवसाय तथा विदेशमा लगेर राख्नेहरु मध्य ठूलो रकम अपचलन गर्नेविरुद्ध प्रहरीले इन्टरपोल मार्फत नै खोजी गरिरहेको छ । सहकारीको रकम अवैध रुपमा अपचलन गरेर करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका ९ जनाविरुद्ध इन्टरपोल मार्फत रेड नोटिस जारी भएको हाे । जस मध्यका एक अरोपी हुन् गितेन्द्र बाबु राई अर्थात जीवी राई ।

राईले संचालन गरेको करिब १२ कम्पनीमा अधिकांश पैसा सहकारीकै भएको अनुसन्धानबाट खुलिसकेको छ । राईले आर्जन गरेको सम्पत्तिमा १ अर्ब ८६ करोड भन्दा बढी ६ वटा सहकारीकै रकम अपचलनबाट आर्जन गरेको देखिएको हाे । तर राई नेपालमा अनुसन्धान चल्दै गर्दा फरार भए । राईकाविरुद्ध इन्टरपोल मार्फत रेड नोटिस नै जारी भएको छ । इन्टरपोलको रेकर्ड अनुसार २०८१ साल जेठ ११ गतेसम्म जीवीले मलेसियाबाट म्यासेज रिसिभ गरिरहेको देखिएको थियो । त्यसपछि गत फागुन महिना सम्म इन्टरपोलले राई कहाँ छन् भन्ने कुनै सूचना पाएको छैन । राईकाविरुद्ध पाँच वटा सहकारीको रकम अपचलन र १ अर्ब ८६ करोड भन्दा बढी सम्पत्ति शुद्धीकरणकै मुद्दा छ ।

त्यस्तै, नेपालमा सहकारीको पैसा अपचलन गरेर इन्टरपोल मार्फत खोजी भैरहेका अर्का व्यक्ति हुन सुमेरु सहकारीको पैसा दूरुपयोग गर्ने भरत महर्जन । सुमेरु सहकारीको ७ अर्ब भन्दा बढी रकम दूरुपयोग गरेको आरोप लागेका महर्जन २०८० माघ १९ गते बेलायत भएको इन्टरपोलको रेकर्डमा छ । तर पनि उनलाई स्वेदश ल्याएर वचतकर्ताको रकम फिर्ता गराउन सकिएको छैन । कास्कीको सूर्यदर्शन सहकारीकै ८० करोड ७२ लाख अपचलनकाको आरोपी भूपेन्द्र राईकाविरुद्ध पनि रेड नोटिस मार्फत इन्टरपोलको खोजि भइरहेको हाे । २०८० साल जेठ २३ गते राई बेलायत भएको इन्टरपोलको रेकर्डमा छ ।

सूर्यदर्शन सहकारीमै २७ करोड विगो दावी गरिएका अर्का आरोपी थानबहादुर बुढाविरुद्ध पनि रेड नोटिस जारी भएको हाे । बागलुङको इमेज सहकारीको १ अर्ब ३८ करोड अपचलनको आरोप लागेर रेड नोटिस जारी भएकी छेला नेपाली २०८० साल साउन १ गते भारतबाट बेलायत नै गएको इन्टरपोलको रेकर्डमा छ । पर्वतको तपाई हाम्रो सहकारीको २९ करोड ९८ लाख ठगीको आरोपमा रेड नोटिस जारी गरिएका बालगोपाल श्रेष्ठ कहाँ छन् अहिलेसम्म खुलेको छैन । रुपन्देहीस्थित सुप्रिम सहकारीको १ अर्ब २ करोड ठगीमा संलग्न रहेको भन्दै मुद्धा दायर भैसकेका सागर केसी पनि इन्टरपोलकै जोखिम सूचीमा भएका आरोपी हुन् ।

ललितपुरस्थित मितेरी सहकारीको १४ करोड रकम अपचलनमा फरार रहेकी ज्योति गुरुङ रेड नोटिस जारी भएपनि पक्राउ पर्न सकेकी छैनन । देवेन्द्रबाबु राई पनि १ अर्ब २ करोड सहकारीकै रकम ठगी गरेर इन्टरपोलले खोजी गरिरहेको व्यक्ति हुन्। रेड नोटिसनै जारी गरेर जोखिम गर्नुपर्ने ९ जना भए पनि यि तथ्यले सहकारीको अधिकांश रकम नेपाल बाहिर गइसकेको हुनसक्ने अनुसन्धानमै संलग्नहरुको आशंका छ ।

तर अघिल्लो सरकारकी महान्यायधीवक्ता भण्डारीले अवैध रुपमा विदेश पैसा लैजाने तथा निजी व्यवसायमा लगानी गर्नेमाथि कारवाही भन्दा फाइदा पुग्ने गरी सहकारीको रकम अपचलन गर्नेविरुद्धको सम्पत्ति शुद्धीकरणको फिर्ता लिने निर्णय गर्दा मुलुक कालो सूचीमा पर्ने जोखिम कायमै छ ।

भिडियाे रिपाेर्ट :