काठमाडौं, असोज ९ । अमेरिका र चीनबीचको असन्तुलित व्यापारिक अभ्यास इतिहासमै सबैभन्दा ठूला व्यापारिक युद्धमा परिवर्तन भएको छ ।
व्यापार घाटा कम गर्न, अमेरिकी प्रविधि तथा बौद्धिक सम्पत्तिको असन्तुलित स्थानान्तरण रोक्न र रोजगारी जोगाउने भन्दै अमेरिकाले चिनियाँ उत्पादनमा २०० अर्ब अमेरिकी डलर बराबरको नयाँ कर लगाएको छ ।
जवाफमा चीनले पनि ६० अर्ब डलरको अमेरिकी सामानमा कर लगाएको छ ।
यो वर्षमात्र अमेरिकाले तीन चरणमा गरी २५० अर्ब डलर बराबरको चिनियाँ सामानमा कर लगाएको छ ।
यसबाट व्यापार युद्धमा संलग्न यी दुई मुलुकमात्र होइन, विश्वबजारको स्वतन्त्र व्यापारमासमेत अवरोध पुग्नुका साथै समग्र व्यापार नै खलबलिनसक्ने सम्भावना बढेको जानकार बताउँछन् ।
शक्तिशाली राष्ट्रहरुको पछिल्लो व्यापारिक तनावले तत्काल असर नदेखिएपनि व्यापारमा मन्दी आउनसक्ने विश्लेषण गरिएको छ ।
व्यापारिक युद्धकै कारण विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ ।
अमेरिकी डलरको भाउ लगातार बढिरहेकाले कुनै वस्तु अत्यन्तै महँगो हुने र कुनै बिक्दै नबिक्ने अवस्थासमेत उत्तिकै हुने सम्भावना रहेको बताइन्छ ।
शक्तिशाली राष्ट्रबीचको व्यापारिक युद्धले नेपाललाई भने खासै असर नपार्ने अर्थविद् बताउँछन् ।
अर्थविद् डा. शंकर शर्मा नेपाली हस्तकलाका सामग्री अमेरिकामा बढी मात्रामा निर्यात हुने गरेको भएपनि चीनसँगको अमेरिकाको व्यापार द्वन्द्वले असर नपार्ने बताउँछन् ।
चिनियाँ सामाग्री अमेरिका निर्यातमा कमी आउँदा नेपाल आयात हुने चिनियाँ सामाग्री थप सस्तो हुने उनको भनाइ छ ।
दुई ठूला देशबीचको व्यापारिक द्वन्द्वले जापान, कोरियासहित केही अफ्रिकी मुलुकलाई भने असरपार्ने उनले बताए ।
आयातमा निर्भर नेपाललाई अमेरिकी डलरको भाउ बढ्दा भने मूल्यवृद्धिमा चाप परेको छ ।
डलरको भाउ बढ्दा पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन् । यसले यातायातदेखि ढुवानी भाडा बढ्नाले उपभोग्य सामग्रीको मूल्य बढ्ने निश्चित छ ।









प्रतिक्रिया दिनुहोस्