काठमाडाैं । फागुपूर्णिमा अर्थात होली पर्व साेमबार काठमाडाैं उपत्यकासहित हिमाली तथा पहाडी जिल्लामा विविध कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ ।
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने साेही पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेर आउने प्राचीन परम्परा रहेकाे हाे । केही वर्ष अघिसम्म काठमाडाैं उपत्यका र शहरी क्षेत्रमा उच्छृङ्खल रूपमा मनाइने होली पछिल्लो समय प्रहरीको सक्रियताका कारण सभ्य बन्दै गएको छ । सडकमा हिँड्ने व्यक्तिलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम करिब बन्द भएको छ ।
फागु पर्वको अघिल्लो दिन सडकमा फोहोर पानी छ्याप्ने गतिविधि पनि देखिएको छैन । साेमबार काठमाडाैंकाे वसन्तपुरमा गाडिएको ‘चिर’ विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगी जलाउने परम्परा छ । चिरमा राखिएका ध्वजापताका औषधोपचारमा उपयोगी हुने विश्वासका साथ लिइन्छ । चिरको खरानी टीका लगाउँदा अनिष्ट टर्छ भन्ने जनविश्वास छ । तराई–मधेश क्षेत्रमा भने मंगलबार होली मनाउने परम्परा छ ।
यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावलाई ध्यानमा राख्दै भीडभाड र तामझाम नगरी होली मनाउन आग्रह गरेको छ । यसपालि कुनै संघसंस्था वा कलाकारलाई कन्सर्ट तथा साङ्गीतिक कार्यक्रम गर्न दिइएको छैन । प्रहरीले चोक–चोकमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ । प्रहरीले भीडभाड नगरी होली मनाउन आग्रह गरेको छ । फागुपर्व नेपालका साथै भारत लगायत विभिन्न देशमा फरक–फरक नाम र परम्परामा मनाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ नामले, चीन मा ‘च्वेज’ नामले र अमेरिका मा ‘होबो’ नामले समान प्रकृतिका उत्सव मनाइने उल्लेख गरिएकाे छ।
त्यस्तै, श्रीलंका, इन्डोनेसिया, म्यान्मार, थाइल्यान्ड, जापान र इजिप्ट लगायतका देशमा पनि विभिन्न साँस्कृतिक रूपान्तरणसहित समान प्रकृतिका उत्सव मनाइन्छन् । नाम फरक भए पनि सबै ठाउँमा आपसी सद्भाव, सामाजिक एकता र उत्साह अभिवृद्धि गर्नु नै यसको मूल उद्देश्य रहेको हाे ।








प्रतिक्रिया दिनुहोस्