Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


‘रास्वपा काँग्रेस र एमाले भन्दा फरक छैन’ : घनश्याम भुसाल


117
Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले रास्वपा, काँग्रेस र एमाले कार्यक्रमगत रुपमा उस्तै भएको टिप्पणी गर्नुभएको छ । 

मंगलवार पार्टीको घोषणापत्र सार्वजानिक गर्ने क्रममा उहाँले रास्वपा, काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी लगायतका राजनितिक दलहरुको नीतिगत रूपमा हिँड्ने बाटो एउटै रहेको बताउनुभएको हो । उहाँले यी राजनीतिक शक्तिहरूबीच नाम, नारा र शैलीमा फरक देखिएपनि नीतिगत रूपमा एउटै बाटोमा हिँडिरहेको उहाँको आरोप छ ।

उनीहरुबीच जनतालाई ढाँट्ने कुरामा मात्रै प्रतिष्पर्धा भइरहेको उहाँले दाबी गर्नुभयो । पञ्चायत अन्तिमतिर उदारवादी बाटोमा हिडेको र सोही बाटोलाई प्रजातन्त्र र अहिलेको गणतन्त्रले पनि पछ्याइरहेको उहाँको भनाई छ । उहाँले जनयुद्ध लडेर आएका पुष्पकमल दाहालको पार्टी नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र र नयाँ पुस्ताको दाबी गर्ने रास्वपाको करारपत्रमा भएको आर्थिक प्रतिवद्धताका बीचमा पनि खास अन्तर नरहेको उहाँले बताउनुभयो ।

उनीहरुको ५ वर्षमा १५० खर्ब रुपैयाँको कुल ग्रार्हस्थ्य उत्पादन (जिडिपी) पु¥याउने वाचा ढाँट्ने प्रतिष्पर्धा मात्रै भएको उहाँले टिप्पणी गर्नुभयो । भुसालले वर्तमान राजनीतिक प्रवृत्ति पपुलिजमतर्फ उन्मुख भएको आरोप लगाउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओली ‘पपुलिज्मका सर्वोतम पितामह’ र अन्य दलमा नेताहरु पितामहको संज्ञा दिनुभयो । नेकपा (संयुक्त) भने पपुलिष्ट धारभन्दा भिन्न रहेको उहाँको दाबी छ ।

उहाँले नेकपा (संयुक्त)ले  राजनीतिमा सधैँ प्रतिपक्षको भुमिकामा रहने उल्लेख गर्नुभयो । उहाँले निर्वाचनपछि पार्टीको सरकारमा कुनै दाबी नरहेने पनि स्पष्ट पार्नुभयो । निर्वाचनका बेला कानूनी र राजनीतिक रूपमा पुनर्गठन गर्न अत्यन्तै कम समय पाएकोले सबै क्षेत्रमा उम्मेद्वारी दिन पनि नसकिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार नेकपा (संयुक्त) ले प्रत्यक्षतर्फ ३५ जना र समानुपातिकतर्फ १०९ जना उम्मेदवार उठाएको छ । संसदमा जति नै सहभागिता भएपनि सरकारमा नजाने र प्रतिपक्षमै बस्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारमा हाम्रो दाबी छैन । एउटा, हामी राजनिति र कानूनी हिसावले हामी पुनर्गठित हुन असाध्यै कम समय थियो, निर्वाचनको लागि पार्टी दर्ता गर्ने बेलामा मात्रै हामी कानूनी र राजनीतिक दुवै हिसावले व्यवस्थित भएका थियौँ । हाम्रो अगाडी चुनाव आइकेको थियो । यसले गर्दा हामीले पर्याप्त उम्मेद्वारी समेत दिन बन्दोबस्त गर्न सकेनौँ । यो दुनियाका सामु भन्न हामीलाई कुनै अफ्ठ्यारो छैन । हामी जम्मा ३५ जना प्रत्यक्षमा र १०९ जना समानुपातिकमा उम्मेद्वारीका साथ जाँदैछौँ । दोस्रो, हामी अहिलेका रंगमञ्चमा भएका पार्टीहरुसंग हामीले जो जसले जित्छौँ, हामीसंग संसदमा जुन सहभागिता हुनेछ, हामीले सरकारमा सहभागिता जनाउँदैनौँ । किनभने कार्यक्रमिक हिसावले हामी फरक हौँ, यसकारण हामी प्रतिपक्षमा हुन्छौँ । हामी सडक, संसदको प्रतिपक्ष हौँ । हामी आजको राजनीतिको प्रतिपक्ष हौँ । एमाले, नेपाली कम्युनिष्ट, काँग्रेस र रास्वपा सार त एउटै हुन् । हाम्रो दाबी के हो भने यी सबै एउटै हुन् । कसले कसरी सडकको बारेमा कुरा गरेर जनतालाई ढाँट्ने कुरामा प्रतिष्पर्धा बाहेक कार्यक्रमका हिसावले उनीहरुको हिँड्ने बाटो एउटै हो । पञ्चायत अन्तिमतिर उदारवादी बाटोमा हिँड्दै थियो, हाम्रो प्रजातन्त्र त्यही बाटो हिँड्यो र अहिले गणतन्त्र पनि त्यही बाटो हिँडिरहेको छ । यही बाटोमा केही पत्र थप्ने हुन्, कसले कुन पत्र थप्छ, कसले कस्तो साईनबोर्ड राख्छ, यसमा प्रतिष्पर्धा छ । जनयुद्ध लडेर आएको नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र र अहिलेको नयाँ नौजवानहरुको भनिएको रास्वपाको करारपत्र आएको छ, करिव १५० खर्ब रुपैयाँको ५ वर्षमा जिडिपी बनाउने कुरा आएको छ, यसमा ढाँट्ने कुरा पनि उस्तै छ, बाटो पनि उस्तै छ, बाटो एउटै हो, हिँड्ने । त्यसकारण हामी नेपालको राजनितिको प्रतिपक्ष हो । सबै पार्टीहरु पपुलिष्ट भएर पछाडी लागे, पपुलिष्ट भनेको अहिले बालेन मात्रै होईन, हाम्रो पपुलिज्मको पितामह काँग्रेसका केही पितामह छन्, त्यो भन्दा पनि सर्वोतम पितामह त ओलीजी नै हो । त्यसमा शंका छैन । प्रचण्डजी अर्को भइहाल्नुभयो उहाँलाई भन्नै पर्दैन । यो पपुलिज्म र नयाँ पपुलिष्टहरु एकातिर हुन् र नेकपा संयुक्त एकातिर हो । यस अर्थमा हामी आजको राजनितिको पनि प्रतिपक्ष हौँ, भोलीको पनि प्रतिपक्ष हौँ ।’ 
उहाँले निर्वाचनमा राजनीतिक पार्टीहरुले बनाउने घोषणापत्र जनता ढाँट्ने माध्याम मात्रै भएको उल्लेख गर्नुभयो । राजनितिक दलहरुले बनाएको घोषणापत्र हालसम्म कार्यन्वयनमा नआएको उहाँको भनाई छ । उहाँले नेकपा (संयुक्त)ले तयार पारेको घोषणापत्रको बाटोमा सबै राजनितिक दलहरु नआएसम्म देश समृद्ध हुनु नसक्ने ठोकुवा गर्नुभयो ।