काठमाडौं, असोज ९ । नेपालीको महान चाड दसैंमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ ।
दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कसहित विभिन्न टिकट काउन्टरहरुमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो । पेट्रोलियम पदार्थमा मूल्यवृद्धिपछि चिडिएका यातायात व्यवसायी सार्वजनिक सवारी साधनमा १० प्रतिशत भाडा बढाउने सरकारी निर्णयपछि टिकट खोल्न राजी भएका हुन् ।
२४५ वटा यातायात समितिको रोक्का बैंक खाता खोल्न व्यवसायीले दिएको दबाब, सरकारले नमानेपछि टिकट बुकिङ अन्योलमा परेको थियो । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत भदौ ३१ गते असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै टिकट खुलाउन मानेपछि आजबाट टिकट बुकिङ खुलेको हो ।
कम्पनी र प्रालिले सरकारले घोषणा गरेको असोज ५ देखि नै टिकट बुकिङ खुला गरे पनि समितिले भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गरेर अग्रिम टिकट बुकिङ खुलाएका थिएनन् । काठमाडौंमा रहेका झन्डै ३५ लाख सर्वसाधारण यो पटक दसैं मान्न घर जाने अनुमान ट्राफिक प्रहरीको छ ।









प्रतिक्रिया दिनुहोस्