काठमाडाैं । धादिङको थाक्रे गाउँपालिका–६ दशकिला स्थित पृथ्वी राजमार्गमा आइतबार बिहान दुई वटा यात्रुबाहक बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। ।
दाङबाट काठमाडौँतर्फ आउँदै गरेको प्र ३-०१-००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ५२०६ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। सवारी साधन एक आपसमा ठोक्किएपछि सडकछेउमा रहेको टिनले छाएको खाजा पसलमा समेत ठोक्किँदा थप क्षति पुगेको थियो ।
दुर्घटनाका क्रममा सोही पसलमा चिया–नास्ता गरिरहेका टिप्पर चालक धुनिवेशी नगरपालिका–९ स्याउले बस्ने ३५ वर्षीय सुजन तामाङ गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश दहालले बताए ।
दुर्घटनामा खाजा पसलका सञ्चालक बाँके जिल्ला वैजनाथ गाउँपालिका–१ घर भई हाल सोही स्थानमा बसोबास गर्दै आएका ५४ वर्षीय खगेश्वर शर्मा घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ।
त्यसैगरी, काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बसमा सवार गल्छी घर बताउने ८ वर्षीया सफलता पुलामी मगर सामान्य घाइते भएकी छन्। दुर्घटनापछि इलाका प्रहरी कार्यालय खानीखोला धादिङ तथा प्रहरी चौकी महादेववेशीबाट ट्राफिकसहितको प्रहरी टोली घटनास्थलमा खटिई घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था गरिएको थियो। दुर्घटनामा संलग्न दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





प्रतिक्रिया दिनुहोस्