Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


राजनीतिक दललाई घोषणापत्र लेखनकाे चटाराे (भिडियाे रिपोर्ट)

कुन दलको घोषणा पत्र कस्तो बन्दै छ ?

260
Shares

काठमाडाैं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरु यति बेला घोषणा पत्र लेखनको काममा लागिरहेका छन् ।

सरकारमा पुगेका दलहरुले आफ्नो पालामा गरेका कामलाई केन्द्रमा राख्नेदेखि नयाँ पछिल्लो राजनीतिक परिस्थितिप्रतिको धारणा समेतलाई घोषणा पत्रमा समेट्ने प्रयास गर्ने भएका हुन् । नयाँ दलहरुले अहिलेको अवस्थामा सम्बोधन गर्नुपर्ने आर्थिक सामाजिक विषयलाई केन्द्रमा राख्दैछन् । घोषणापत्र सार्वजनिक गर्ने दिन नजिकिदै गर्दा कुन दलको तयारी के छ त ?

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्त गरेको नेपाली कांग्रेस यति बेला पार्टी सभापति गगन थापाकै नेतृत्वमा घोषणा पत्र तयारीको काममा जुटेको छ । कांग्रेसले घोषणापत्रमा देश १० भिजनको अवधारणा अगाडि सार्ने तयारी गरेको हाे । जेनजी विद्रोह पछि निर्वाचन हुन लागेका कारण पनि स्वाभाविक रुपमा सुशासन र समुन्तिको विषय त्यसमा समावेश गरिने कांग्रेसका नेताहरु बताउँछन् । उनीहरुले अहिलेको मुलुकको सम्पूर्ण राजनीतिक सामाजिक र आर्थिक एजेण्डा यसले समेट्ने कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमकाे दावी छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा घोषणापत्र लेखनको कामलाई अगाडि बढाइरहेको छ । उसले भन्दै आएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई यस पटक पनि निरन्तरता दिने तथा ओली नेतृत्वले गरेका सुशासन रआर्थिक वृद्धि लगायतका कामलाई घोषणापत्रमा समेट्ने भएको छ । जेनजी आन्दोलनका कारण सरकारबाट विस्थापित हुनुपरेको एमाले जेनजी आन्दोलनलाई अपहरण गरेर अन्य पक्षले फाइदा उठाएको भन्ने आफ्नो धारणालाई पनि घोषणापत्रमा राख्ने तयारी भएकाे एमालेका निर्वाचन प्रचार संयोजक ऐनबहादुर शाहीले बताउनुभयाे ।

नेपाली कम्युनिष्ट पार्टीले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र लेखनको काम अगाडि बढाएको छ । पछिल्लो समय सुशासनको विषय मुल मुद्दा भएको दावी गर्दै आएको नेकपाले सुशासन र सामाजिक न्याय समृद्धि लगायतका विषयलाई प्राथमिकतामा राख्दै मस्यौद्धा लेखनको काम गरिरहेको छ । उता, राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा घोषणापत्र लेखनको काम अगाडि बढाउनुभएकाे छ ।

रास्वपाले पूर्वाधार विकास, देशको आर्थिक प्रणाली, न्याय तथा अहिलेको समाजमा के-के विषयवस्तु सम्बाेधन गर्नुपर्छ । त्यसमा केन्द्रीत भएर घोषणापत्र लेखन गरिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा घोषणापत्र तयार गरिरहेको छ । राप्रपाले राजसंस्था र धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र पुनस्थापना र प्रत्यक्ष निवार्चित कार्यकारी प्रधानमन्त्रीको विषयलाई केन्द्रमा राखेर आफ्नो घोषणापत्र बनाइरहेकाे राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले बताउनुभयाे ।

यी बाहेक जसपा नेपाल प्रतिवद्धतापत्र सार्वजनिक गरेर चुनावी प्रचारमा छ । उज्यालो नेपाल र जनमत लगायतका दलहरुले पनि घोषणा पत्र लेखनको कामलाई तीव्रता दिएका छन् । संघीयता सवलीकरणदेखि जलविद्युत र कृषि पर्यटन लगायतका विषयहरु समेत आफ्ना घोषणापत्रमा राखिरहेका छन । धमाधम घोषणा पत्र लेखन गरिरहेका दलका उम्मेदवारहरु भने खाली हात घरदैलोमा पुगिरहेकाे देखिन्छन् ।

भिडियाे रिपोर्ट: