काठमाडाैं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेनजीहरुले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताउनुभएको छ।
कांग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा मंगलबार पुगेको सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँगको छलफलमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । जेनजी अगुवा सुदन गुरुङले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्वाचन हुन नदिने भन्नुभएको उल्लेख गर्दै उहाँले यसले सरकार निर्वाचन गराउन लागि परेको भन्नेमा आशंका उब्जाएको बताउनुभयो। निषेधको राजनीति गरेर र निषेधको भावनाबाट निर्वाचन हुन नसक्ने उहाँको भनाइ छ।
उपसभापति गुरुङले सरकार निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगबाट सम्पन्न गर्नतर्फ नलागेको आरोप लगाउनुभएकाे छ। पुराना वा नयाँ पार्टीको नाममा कुनैपनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुन नसक्ने उहाँले जिकिर गर्नुभयो। उहाँले कोही पनि मतदाताको मताधिकार नखोसियोस् भन्नेमा कांग्रेस दृढ रहेको समेत बताउनुभएकाे छ।
उपसभापति गुरुङले नेपाली काँग्रेस निर्वाचनबाट नभाग्ने बताउनुभयो। उहाँले सरकारले निर्वाचनको वातावरण निर्माण गर्न अझै नसकेको जिकिर गर्नुभएकाे छ। निर्वाचनका लागि शान्ति सुरक्षा पहिलो शर्त रहेको उल्लेख गर्दै उहाँले सरकारले भयमुक्त वातावरण बनाउन नसकेको बताउनुभयो।





प्रतिक्रिया दिनुहोस्