काठमाडाैं। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औं महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाउनुभएको छ।
काठमाडाैंमा शनिबार ईश्वर पोखरेलको समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो। उहाँले प्रतिनिधि छनाेट र बन्दसत्रदेखि निर्वाचनसम्म नै पार्टीका संचरचनाहरुको दुरुपयोग गर्ने काम भएको बताउनुभयो। यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न चिन्ह खडा गरेको उहाँको भनाइ छ।
उपमहासचिव भट्टराईले आगामी दिनमा यसको थप समीक्षा गर्ने पनि बताउनुभयो। उहाँले लोकतान्त्रिक अभ्यासमा सहभागी भएपछि आएको परिणामलाई भने स्वीकार गर्ने बताउनुभएकाे छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले ल्याएका राम्रा पक्षहरुलाई समर्थन गर्ने र पक्षपातपूर्ण व्यवहार भए प्रतिवाद गर्ने उहाँले चेतावनी समेत दिनुभयाे। उहाँले आगामी निर्वाचन लगायत बाह्य प्रतिष्पर्धामा भने एकजुट हुने बताउनुभयो। विचारको आधारमा पार्टीभित्र अन्तरसंघर्ष भने जारी रहने उहाँको भनाइ छ।
उपमहासचिव भट्टराईले अध्यक्ष ओलीको व्यवहारमा कुनै परिवर्तन नआएको उल्लेख गर्दै सामूहिक निर्णय र नेतृत्व हस्तान्तरणको एजेण्डा भने उठाइरहने बताउनुभयो। उहाँले पार्टीभित्र अपमान हुनेगरी कसैको मानमर्दन गरेमा प्रतिवाद गर्ने चेतावनी पनि दिनुभएकाे छ। पार्टीको महाधिवेशनमा आफ्नो पक्षले सफलता हासिल गर्न नसेकोमा पनि समीक्षा गर्ने भेलाले निर्णय गरेको उहाँले जानकारी दिनुभयो।
उपमहासचिव भट्टराईले निर्वाचनमा सहभागी भएर सफलता हासिल गर्न सकेकाहरुलाई विचलिन नभई पार्टी निर्माणमा लाग्न आग्रह गरेको पनि बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्