काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशको प्रधानमन्त्री भएर देशको सेवा गर्ने चाहना रहेको बताउनुभएको छ।
काठमाडौंमा शनिबार आयोजित जेनजीसँग अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको बताउनुभयो। तर तोकिएकै समय फागुन २१ गते नेपालमा निर्वाचन हुनेमा उहाँले आशंका जनाउनुभयो। सुशिला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्ने कुरा कसैले नपत्याएको उहाँको भनाइ छ।
महासचिव विप्लवले प्रहरी, कर्मचारीको मनोबल गिरेको र लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनको लागि आवश्यक रकम नभएको कारण उल्लेख गर्नुभएकाे छ। उहाँले निर्वाचन हुनेमा शंका व्यक्त गर्नुभयाे । उहाँले सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर अगाडि बढ्नुपर्नेमा पनि जोड दिनुभएकाे छ। सर्वसहमतिबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने उहाँको भनाइ थियाे। उहाँले जेनजीको माग पनि प्रत्यक्ष निर्वाचित कार्यकारी नै भएको बताउनुभएकाे छ।
महासचिव विप्लवले वर्तमान सरकारले जेनजी आन्दोलनको मागअनुसार भ्रष्टचारीलाई कारबाही अगाडि नबढाएको आरोप पनि लगाउनुभयो। यो सरकारले जेनजीका माग पूरा गर्न नसक्ने उहाँको भनाइ छ। उहाँले निर्वाचनमार्फत नयाँ शक्तिको उदय हुनुपर्नेमा पुरानै शक्तिहरु सलबलाउन थालेको पनि बताउनुभयो।





प्रतिक्रिया दिनुहोस्