Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


करिडोर आसपास क्षेत्रमा आर्थिक गतिविधिमा वृद्धि (भिडियाे रिपाेर्ट)

कृषि र पर्यटनलाई सँगसँगै लैजान सकिने सम्भावना

0
Shares

नवलपुर। सामान्य काम र उपचारका लागि घण्टाैं पैदल यात्रा गरेर सदरमुकाम कावासोती र आसपासका बजार जानुपर्ने बाध्यतामा रहेका नवलपुरको दुर्गम पहाडी भेगका बासीन्दालाई कालिगण्डकी करिडोर सडकले ठूलो राहत दिएको छ।

कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि नवलपुरको दुर्गम क्षेत्रका वासिन्दालाई आवत-जावतमा सजिलो मात्रै भएको छैन ती बस्तीहरुमा आर्थिक गतिविधि पनि बढेको हाे। कालिगण्डकी करिडोर सडक निमार्णले नवलपुरको पहाडी भेगका बासीन्दालाई सदरमुकाम कावासोती र जिल्लाका अन्य मुख्य बजारमा पुग्न सहज भएको छ ।

सडक नहुँदा घण्टौं हिँडेर सदरमुकाम र पूर्वपश्चिम राजमार्गको मुख्य बजार गैंडाकोट, दलदले पुग्नुपर्ने बाध्यतामा रहेका दुर्गम क्षेत्रका वासिन्दालाई अहिले निकै सजिलो भएको हो। सामान्य किनमेलदेखि, औषधी उपचारका लागि बिरामीलाई बोकेर ल्याउनुपर्ने बाध्यतामा रहेका दुर्गमका बासीन्दाहरु करिडोर सडक सञ्चालनबाट ठूलो राहत मिलेको बताउँछन् ।

२०६४ सालमा निर्माण शुरु भएको यो सडकको नवलपुरखण्डको निमार्ण सम्पन्न हुन ढिलाइ भएता पनि अहिले भने दुर्गम बस्तीमा यसले विकासको ढोका खोलिदिएको हाे। करिडोरअन्र्तगत गैंडाकोटदेखि पाल्पाको पिपलडाँडासम्मको १ सय ३१ किलोमिटर सडक हस्तान्तरण भएपछि नवलपुरका पहाडी क्षेत्र तथा पाल्पा र तनहुँका बासीन्दालाई सहज भएको छ। करिडोर निमार्णपछि पहाडी भेगमा उत्पादन हुने अदुवा, अम्रिसो र सुन्तलाले बजार पाएको छ।

जसका कारण कृषि क्षेत्रमा स्थानीयको आकर्षण बढेको हाे । दुर्गम पहाडी गाउँमा कालोपत्रे सडक पुग्दा स्थानीय दंग छन् । अब यस क्षेत्रको उत्पादनलाई बजार पुर्याउन योजना बनाएर काम गरेमा आर्थिक रूपमा सबल हुन सकिने बुलिङ्गटार गाउँपालिका-३ का वडाध्यक्ष विष्णुवीर जर्घामगरले बताउनुभयाे।

गैंडाकोटदेखि कालिगण्डकी नदीको किनारैकिनार मुस्ताङको कोराला नाकासम्म यो सडकले जोडेको छ। यस बीचमा पुराना बस्ती र ऐतिहासिक र प्राकृतिक सम्पदाहरु अनगिन्ती छन् । सडक मार्ग नहुँदा ती सबै सम्पदाहरु ओझेलमा परेका थिए । अहिले करिडोर सडक सञ्चालनमा आएपछि त्यस क्षेत्रका बासीन्दाको आर्थिक र सामाजिक विकासमा टेवा पुगेको हाे।

साेही सडक आसपास ठूल्ठूला टारहरु रहेकाले ब्यवसायिक कृषि र पर्यटनको पनि मनग्गे सम्भावना देखिएको छ।

भिडियाे रिपाेर्ट: