Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


पेट्रोलियम पदार्थको अभाव हट्दै, पेट्रोलपम्पलाई एकैदिन १७ लाख लिटर इन्धन दिइयो


0
Shares

काठमाडौं, असोज ६ । नेपाल आयल निगमले शनिबारैदेखि काठमाडौं उपत्यकामा सहजरुपमा पेट्रोलियम पदार्थ उपलब्ध हुने जनाएको छ ।

ट्यांकर चालकको हड्तालका कारण असहज बनेको पेट्रोलियम आपूर्ति सहज पार्न नेपाल आयल निगमले शनिबार पनि पेट्रोल र डिजेल वितरण गरेको छ ।

निगमको थानकोट डिपोबाट शनिबार ८ लाख २९ हजार लिटर पेट्रोल र ८ लाख ८० हजार लिटर डिजेल वितरण गरिएको छ । यो एकैदिन वितरण गरिएको सबैभन्दा ठूलो परिमाण हो ।

निगमले उपत्यकामा दैनिक औसत ६ लाख लिटर पेट्रोल र सात लाख लिटर डिजेल वितरण गर्दै आएको छ ।

हामीसित कुरा गर्दै नेपाल आयल निगमका निमित्त कार्यकारी प्रमुख सुशील भट्टराईले शनिबारैदेखि पेट्रोलियम पदार्थको अभाव नहुने बताए ।

थानकोट डिपोबाट पर्याप्त इन्धन वितरण गरिएकाले उपभोक्ताले लाइन बस्न नपर्ने उनले बताए ।

भट्टराईले सोमबारदेखि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएका सबै बाधा हट्ने दाबी गरे ।

शुक्रबार सरकार र आन्दोलनरत् चालकबीच आपूर्ति सुचारु गराउने सहमति भएको थियो ।