Logo ६ मंसिर २०८२, शनिबार | Sun Nov 23 2025


बाढी-पहिरो प्रभावित परिवारलाई शुद्ध खानेपानी र स्वच्छ खाना सुनिश्चित गर्न सरकारकाे अपिल


234
Shares

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार र शनिबारको अविरल वर्षासँगै आएको बाढी-पहिरोबाट विस्थापित भएका परिवारहरूलाई शुद्ध खानेपानी र स्वच्छ खानाको व्यवस्था गर्न सबै स्थानीय तह र सरोकारवालासँग सहकार्य गर्न आह्वान गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विपदपछि निम्तिने स्वास्थ्य जोखिमहरू रोक्न सरोकारवाला सबै निकायलाई सक्रिय भूमिका खेल्न आह्वान गर्नुभएको हो । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बाढी, डुबान र पहिरोजस्ता विपदपछि पानीमा डुब्ने र पानीमा बग्ने तथा करेन्ट लाग्ने जस्ता तत्कालीन समस्याहरूको समाधानमा सरकार सक्रिय रहेको उल्लेख गर्नुभयो ।

प्रवक्ता बुढाथोकीले विपदका कारण आउने दीर्घकालीन स्वास्थ्य जोखिमतर्फ सबै सचेत रहन आवश्यक रहेको पनि बताउनुभएकाे छ। उहाँले विपदपछिको खानपानका कारण स्वास्थ्यमा पर्नसक्ने नकारात्मक प्रभावहरु कम गर्न तथा प्रकोपहरु फैलिन नदिन भाइबर ग्रुप र सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सामग्रीहरु प्रशारण तथा प्रकाशन गरिरहेको समेत बताउनुभयो ।

स्थानीय तहमा २० भन्दा बढी भाषामा जनचेतनामूलक सामग्रीहरू प्रशारण र प्रकाशन भइरहेको उल्लेख गर्दै उहाँले प्रत्येक वडा तथा टोलमा रहेका महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूलाई समेत स्वास्थ्य समस्याको रोकथाममा सक्रिय भूमिका खेल्न निर्देशन दिइएको बताउनुभयो । प्रवक्ता बुढाथोकीले विभिन्न संघ-संस्था र जनप्रतिनिधिहरूलाई समेत राहतस्वरुप वितरण गर्ने खाने कुराबाट दीर्घकालीन रुपमा पर्न सक्ने असरहरूकाे बारेमा विचार गर्न आग्रह गर्नुभएकाे छ।

साेही बाढीका कारण पूर्वी नेपालमा ठूलो जनधनको क्षति पुगेको छ । कयौं घरपरिवार विस्तापित भएका छन् । वर्षापछि आएको बाढी पहिरो तथा डुबानमा परेकाहरुको उद्धार गरी नजिकका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा उपचार गराइरहेको मन्त्रालयले जनाएकाे हाे ।