
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी खोजीका लागि कार्यदल गठन गरेको छ ।
मन्त्रीस्तरीय निर्णयले शुक्रबार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजक रहने गरी ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको हो । साेही कार्यदलमा सम्बन्धित जिल्लाका प्रजिअ संयोजक रहने र अन्य निकायका प्रतिनिधिहरू सदस्य रहने भएका छन् । कार्यदलले फरार कैदीबन्दीको खोजी, नियन्त्रण तथा पक्राउ अभियान सञ्चालन गर्ने भएकाे हाे ।
सरकारले कारागारबाट फरार कैदीबन्दीहरूलाई अविलम्ब कारागारमा फिर्ता हुन आग्रह समेत गरेको छ । कार्यदललाई गत भदाै २३-२४ गते अगाडिको कारागारको अवस्था अनुसार कायम रहेको अभिलेख अनुसार हाल फर्की आएका र आउने कैदीबन्दीहरूको व्यहोरा रुजु गरी फर्किन बाँकी रहेका कैदीहरूको दैनिक अभिलेख व्यवस्थित रूपमा तयार गर्नुपर्ने कार्यदेश रहेको छ ।
त्यसैगरी फर्किन बाँकी कैदीबन्दीहरूको सम्बन्धमा असोज २० गतेभित्र कारागार फर्की आउन र सोही समयभित्र फर्की नआए कारागार ऐन, २०७९ र अन्य प्रचलित कानून बमोजिमको कारबाही हुने कार्यदेशमा उल्लेख गरिएकाे हाे ।


प्रतिक्रिया दिनुहोस्