
काठमाडौं । पहिरोका कारण अवरुद्ध भएकाे चीन जोड्ने तातोपानी नाकासम्मको अरनिको राजमार्ग साेमबार साँझदेखि सञ्चालनमा आएको छ ।
भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजारनजिकै पर्ने इकुसहित ४ ठाउँमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग सुचारू भएको हो । याेसँगै दशैं -तिहारका लागि चीनबाट आउने सामान धेरथोर मात्रामा भए पनि काठमाडौंभित्रिने आशा बढेको छ। उता रसुवागढी नाकास्थित ल्हेन्दे खोलाले बगाएको पुलमा अझै पनि बेलिब्रिज राख्न सकिएको छैन ।
साेही कारण मुस्ताङको कोरला नाका पनि खोलिएको अवस्थामा तातोपानीबाट पनि सामान बोकेका कन्टेनर काठमाडौंतर्फ आउन थालेका छन् । सोमबार करिब ५ बजे एकतर्फी रुपमा राजमार्ग सञ्चालनमा आएपछि ८-१० वटा सवारीसाधन तातोपानी नाकाबाट नेपाल भित्रिएका छन् । १५ सय बढी कन्टेनर अझै चीनतर्फ अड्किएका हुन् ।
गत साउन ७ गते बिहान सडक माथिबाट ठूलो पहिरो खसेदेखि अरनिको राजमार्ग सञ्चालन हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्