Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


जेनजी आन्दोलन: पीडितका माग तत्काल पूरा नगरेमा सरकार ढाल्ने अभियन्ता गुरूङकाे चेतावनी


31.5k
Shares

काठमाडौं । जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले पीडितहरुको माग तत्काल पूरा गर्न सरकारसँग माग गर्नुभएको छ ।

काठमाडौंमा आइतबार आयोजित एक साक्षात्कार कार्यक्रममा बाेल्दै उहाँले शहीद परिवारको माग सोमबार बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी समेत दिनुभएकाे हाे । पीडितले न्याय पाउने कुरा सुनिश्चित नभए सरकार फेरि पनि ढल्ने अभियन्ता गुरुङको जिकिर थियो । नवनियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरबार पुगेर पदभार ग्रहण गरेको केही बेरपछि नै उहाँले सोही चेतावनी दिनुभएकाे छ।

उहाँले भन्नुभयो,-‘हाम्रो माग अझै पनि पूरा भएको छैन । जारी छ । म एक्लै भएपनि आन्दोलन जारी छ । मलाई इण्डियन, चाईनिज जे भनेपनि मेरो निम्ति देश ठूलो हो, लडछु । साेमबार बिहानसम्म उनीहरुको माग पूरा हुन्छ । माग पूरा नभए सरकार फेरी पनि ढल्छ । जुन सरकार पनि जनताको हुनुपर्छ । पिपुल पावर भन्छ, पावर जहिले पनि नेताको हुन्छ । अहिले जनताको एक्सेस भएको छ । त्यो कहिल्यै यस अघि भएको थिएन । पीडितले न्याय पाउने कुरा कन्फर्म त भएको छैन । त्यो नभएसम्म जुनै सरकार आएपनि ढल्छ । टेनसन नलिए हुन्छ । म छु–एक्लै भएपनि लड्छु ।’

कार्यक्रममा शहीद परिवारका सदस्यहरुले पनि जेनजी आन्दोलन दमन गरी हत्या गर्ने काममा संलग्नहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए । शहीद प्रवीण कुलुङकी दिदी अनिता कुलुङले सोही आन्दोलनमा दमन गरी हत्या गर्ने कार्यमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री कार्कीसँग माग गर्नुभएकाे छ ।

सरकारले आइतबार नै सोही आन्दोलनको क्रममा मृत्युवरण गरेकाहरुलाई शहीद घोषणा गरी उनीहरुलाई जनही १० लाखका दरले क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।