Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


राष्ट्र बैंकले १ अर्ब ३० करोड रूपैयाँ लगानी गर्दै


4.2k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ३० करोड लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाई लगानी गर्न लागेको हो । राष्ट्र बैंक वित्त व्यवस्थापन विभागकाअनुसार राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा १ अर्ब ४ करोड राख्ने भएकाे छ। त्यस्तै, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा १९ करोड ५० लाख राख्दैछ भने ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ६५ करोड राख्ने भएकाे हाे।

उक्त रकम ३ सय ६६ दिनका लागि बैंक तथा वित्तिय संस्थाहरुले मुद्दति निक्षेपका रुपमा राख्न सक्ने भएका छन् । त्यसका लागि आगामी असोज ५ गतेदेखि २०८३ साल असोज ५ सम्मका लागि राष्ट्र बैंकले उक्त रकम मुद्दति खातामा राख्न चाहेको र मुद्दति राख्न चाहने बैंकलाई भदौ ३१ गतेभित्रै प्रस्ताव पेश गर्न बैंकहरुलाई जानकारी गराएकाे हाे ।

निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको करिबमा २ वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा ३ प्रतिशत कायम गरेको हुनुपर्ने शर्त तोकिएको छ ।

त्यस्तै, कर्जा निक्षेप अनुपात बैंकले समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्ने शर्त राष्ट्र बैंकको छ । राष्ट्र बैंकको पैसा राख्ने बैंक तथा वित्तीय संस्थाले मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउनुपर्नेछ ।

कोषको रकम लगानी गरी आर्जन हुने त्रैमासिक ब्याज बापतको रकम त्रयमास सकिएको भोलिपल्ट आगामी (कात्तिक, माघ, वैशाख र साउन महिनाको १ गतेका दिन वा उक्त दिन विदा परेमा त्यसपछि कार्यालय खुलेको दिन) तथा लगानी परिपक्व भएमा लगानी गरिएको सावाँ र बाँकी अवधिको व्याज रकम राष्ट्र बैंक, बैंकिङ विभागमा रहेको बैंकको वित्तीय संस्थाको खाता स्वतः खर्च गरी असुल गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार उक्त समयमा खातामा आवश्यक मौज्दात कायम रहेको हुनुपर्ने भएकाे छ ।