
काठमाडाैं । अष्ट्रेलियाकाे मेलबर्न-भिक्टोरियामा बसाेबास गर्दै आएका प्रवासी नेपालीहरुले पहिलो पटक इन्द्रजात्रा पर्व मनाएका छन् ।
साे इन्द्रजात्रा कार्यक्रम (येँया: पुन्हि) नेवा: गुथि, मेलबर्नद्वारा अष्ट्रेलियन प्रवासी नेपाली बहुसाँस्कृतिक केन्द्रमा शनिबार भव्य रुपमा सम्पन्न भएकाे प्रवासी नेपालीहरुले बताएका हुन् । यो ऐतिहासिक समारोहले काठमाडौंको मुटुबाट आएको इन्द्रजात्राका सयौं वर्ष पुराना परम्परालाई मेलबर्नमा प्रस्तुत गरेको थियो । साँस्कृतिक विरासतलाई बहुसाँस्कृतिक परिवेशमा आफ्नो पहिचानसहित उत्सव मनाइएकाे थियाे।
महोत्सवको प्रमुख आकर्षण गणेश, भैरव र जीवित देवी कुमारीको रथ प्रवासी नेपाली महिलाहरूले गर्वका साथ तानेका थिए । कार्यक्रममा लाखे नाच र मनोरञ्जक पुलुकिसि (ऐरावत हात्ती) नाच समेत प्रस्तुत गरिएको थियो । यसले सबै उमेरका दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । समय्बजि प्रदर्शन मार्फत अतिथिहरूलाई नेवा: परिकारको वास्तविक स्वाद पनि प्रदान गरिएको थियो । स्टलहरूमा नेपाली खानाका विभिन्न परिकार, कला र हस्तकला प्रदर्शनी समेत गरिएको थियो । जसले नयाँ पुस्तालाई जोड्ने र संस्कृतिक आदान–प्रदानको वातावरण सिर्जना गरेको जनाइएको छ ।
साेही कार्यक्रममा नेपालका माननीय कन्सुलर निराजन गौलीको उपस्थिति रहेकाे थियो । जसले साँस्कृतिक र कूटनीतिक महत्त्व थपेकाे थियाे । मुख्य अतिथि, भिक्टोरियाका बहुसाँस्कृतिक मामिला मन्त्री इन्ग्रिड स्टिटले महोत्सवमा उपस्थित भएर प्रवासी नेपालीले आफ्नो साँस्कृतिक पहिचान जोगाउँदै भिक्टोरियाको बहुसाँस्कृतिक समाजमा योगदान पुर्याएकोमा प्रशंसा गर्नुभयाे ।
मेलबर्नमा पहिलो पटक इन्द्रजात्राले केवल येँया: पुन्हिका परम्पराहरूलाई पुनर्जीवित गर्नुका साथै महोत्सवको मूल भावना पनि प्रतिबिम्बित गरेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्