Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


वीरगञ्जकाे हैजा प्रभावित क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव स्वयं पानी परीक्षण स्थलमा


390
Shares

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकामा गत शुक्रबार हैजा रोग पुष्टि भएपछि प्रभावित क्षेत्रमा खानेपानी परिक्षण तथा शुद्धिकरणको कार्य तीव्र रुपमा अगाडि बढाइएको छ ।

हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरिएको जनाएको हो । सोही टोलीले अहिले तीव्र रुपमा पानी परीक्षणको कार्य अगाडि बढाएको खानेपानीमन्त्री प्रदीप यादवले बताउनुभएको छ । उहाँले आइतबार बिहानदेखि हैजा प्रभावित क्षेत्रहरूमा आफूसहित प्राविधिक टोलीले विभिन्न वडाहरूमा पानी परीक्षणको कार्य प्रारम्भ गरेको बताउनुभएको हो। प्राविधिक टोलीले प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धिकरणको कार्य तीव्र रूपमा अगाडि बढाएको उहाँको भनाइ छ ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा हैजारोगको संक्रमण देखिएको र केहीको मृत्यु समेत भएपछि अहिले मन्त्री यादवसहित खानेपानी मन्त्रालय र विभागको प्राविधिक लगायतको टिम हैजा प्रभावित क्षेत्रमा खटिएको हो। हैजा रोगको संक्रमण भेटिएको क्षेत्रमा खानेपानी परीक्षण, शुद्धिकरणका लागि आवश्यक सामग्रीसहितको मोबाइल भ्यान टोली तत्कालै खटिएको र आवश्यक थप सामग्री पठाउन लागिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी गराउनुभयो ।

वीरगञ्जमा शुक्रबार ३ जनामा हैजा रोगको संक्रमण पुष्टि भएको थियो । हैजा रोगकै लक्षण देखिएका तर हैजा पुष्टि नभएका २ जनाको भने शनिबार मृत्यु भएको हो ।