
काठमाडौं । औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ ।
औषधि उत्पादनको अवस्था, लिमिटेडले भोगिरहेको समस्या तथा औषधि आपूर्ति लगायतको विषयमा अध्ययन र शोधपुछका लागि प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले लिमिटेको स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा समिति सभापति अब्दुल खानले नेपाल औषधि लिमिटेडले देशभरलाई पुग्ने औषधि उत्पादन गर्नसक्ने भएपनि सरकारी कार्यालयहरुले नै औषधि खरिद नगर्दा समस्या भएको लिमिटेडले बताएको जानकारी दिनुभयो । आवश्यक कच्चा पदार्थ आयातमा समस्या, आर्थिक स्रोतको अभाव र सरकारी निकायबाट औषधि खरिदको व्यवस्था नहुँदा उत्पादन सीमित भएको र हाल ११ प्रकारका औषधि मात्र उत्पादन गरिरहेको जानकारी गराइएको उहाँको भनाइ छ । लिमिटेडमा पर्याप्त जनशक्ति, प्रविधि र पूर्वाधार हुँदाहुँदै पनि नीतिगत समस्या तथा सरकारको उपेक्षाको कारण समस्या भएको बताइएको छ ।
औषधि लिमिटेडको समस्याको बारेमा समितिमा छलफल गरेर सरकारलाई आवश्यक सुझाव दिने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्