२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


तरुण दलको केन्द्रिय तदर्थ समिति विघटनको माग गर्दै प्रदर्शन


754
Shares

काठमाडौं । नेपाल तरुण दलको केन्द्रिय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आवद्ध युवाहरुले मोटरसाइकल र्यालीसहित काठमाडौंमा प्रदर्शन गरेका छन् ।

तदर्थ समितिको वैधानिकता सकिएको र वर्तमान समितिले महाधिवेशन गर्न नमिल्ने भन्दै उनीहरूले तरुण दल केन्द्रिय तदर्थ समिति भंग गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै तरुण दलका केन्द्रीय सदस्य रोजन राईले भ्रातृ संगठन तदर्थवादको नाममा एक दशकसम्म रहनुले आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको बताउनुभयो । उहाँले तदर्थ समिति बनेको तीन वर्ष भएपनि अध्यक्षले महाधिवेशन गर्ने कुनै क्रियाकलाप नगरेको आरोप लगाउनुभयो ।

राईले अधिवेशनको नाममा तरुण दलका सदस्यहरुलाई समेत थाहा नदिई तरुण दलभित्रै हानाहान र काटमारको अवस्था सिर्जना गरेको आरोप लगाउनुभयो । उहाँले कांग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतः विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात गर्दै नयाँ तदर्थ समितको माग गर्नुभयो ।

नेपाल तरुण दल विगत ९ वर्षदेखि तदर्थ समितिको भरमा चलिरहेको छ । २०७३ सालमा पोखरामा भएको महाधिवेशनपछि तरुण दलको महाधिवेशन भएको छैन ।