२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


प्रधानमन्त्रीको राजनीतिक गन्ध आयो : अध्यक्ष दाहाल


1.573k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पतञ्जली जग्गा प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिशोध साँध्नुभएको आरोप लगाउनुभएको छ ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीको तर्फबाट राजनीतिक प्रतिशोधको गन्ध आएको बताउनुभयो । मुद्दा दर्ताप्रति अध्यक्ष नेपालले नै आश्चर्य प्रकट गर्नुभएको र अदालतले न्याय दिनेमा विश्वस्त रहनुभएको बताउनुभयो । अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको बताउनुभयो । कुनैपनि प्रधानमन्त्री र क्याबिनेटको निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर ललितानिवास प्रकरणमा पन्छिएको र अहिले पुनः सोही प्रकृतिको मुद्दा दर्ता गरेको भन्दै अख्तियारले जवाफ दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले नीतिगत निर्णयमा अख्तियारले छानविन गर्दै जाने हो भने कोही पनि प्रधानमन्त्री छानविनको दायराभित्र आउने बताउनुभयो । उहाँले नीतिगत र सैद्धान्तिक रुपले ठिक हो की होइन भन्ने बहस गर्न आवश्यक रहेको बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष नेपालसहित आरोपीहरुलाई पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको छ ।