
काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले पदभार ग्रहण गर्नुभएको छ ।
सोमबार अध्यक्ष हुमागाईंले बोर्डको बबरमहलस्थित कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।
जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दे अध्यक्ष हुमागाईंले पहिलो कार्यकालमा अघि बढाएका राष्ट्रिय विज्ञापन नीति जारी गर्ने तथा विज्ञापन ऐन संशोधनका सम्पन्न गर्ने बताउनुभयो । उहाँले घट्दो विज्ञापन बजार चासो र चिन्ताको विषय भएको उल्लेख गर्दै विज्ञापन बजारको विकास र विस्तारको प्रयास गर्ने बताउनुभयो ।
अध्यक्ष हुमागाईंले विज्ञापन क्षेत्रका सबै सरोकारवालाको सहयोग लिएर विज्ञापन बजारको विकास र विस्तारका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले कसैको एक्लो प्रयासले सम्भव नहुने सामुहिक प्रयास र प्रतिवद्धता चाहिने बताउनुभयो । वाह्य विज्ञापन होर्डिङ्ग बोर्डमा रहेको ठेकेदारी प्रथाको अन्त्य गर्ने उहाँको भनाइ छ । उहाँले स्थानीय तह तथा प्रदेश सरकारले विज्ञापनको नमूना ऐन पारित नगरेकोमा चिन्ता व्यक्त गर्दे सबै स्थानीय तहलाई विज्ञापन कर आम्दानीको राम्रो स्रोत भएकोले ऐन पारित गर्न आग्रह समेत गर्नुभयो ।
अध्यक्ष हुमागाईंले सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमनको दायरामा गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्