
काठमाडौं । जलवायु परिवर्तनका असर न्युनिकरणका लागि वैश्विक साझेदारी आवश्यक रहेको नेताहरुले बताएका छन् ।
शुक्रवारबाट शुरु भएको सगरमाथा संवाद कार्यक्रममा देशको प्रतिनिधित्व गर्दै नेपाल आउनुभएका प्रतिनिधिहरुले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न वैश्विक साझेदारी आवश्यक रहेको बताएका हुन् ।
जलवायु परिवर्तनसँग सम्बन्धित मुद्दामा भइरहेका छलफलमा हिमालको मुद्दा ओझेलमा पारिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सगरमाथा संवादका क्रममा बोल्ने वक्ताहरुले हिमालदेखि महासागरसम्मको मुद्दालाई समेट्ने गरी जलवायु परिवर्तनबारे बहस जरुरी रहेको बताए । उद्घाटन सत्रपछिको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रसचिव अमृतबहादुर राईले वक्ताहरुले जलवायु परिवर्तनसम्बन्धित विश्वमा भइरहेका छलफल, वार्ताहरुमा हिमालको विषयलाई अलिकति कम उठाउने गरेकोमा नेपालले हिमालको विषय विश्व जलवायु संवाद र छलफलमा उठाउन नेतृत्वदायी भुमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरेको बताउनुभयो ।
परराष्ट्रसचिव राईले सगरमाथा संवादका क्रममा अहिलेसम्म १९ वटा मन्तव्यहरु प्रश्तुत भएको बतउनुभयो । जसमा १३ वटा देशका प्रतिनिधिहरु हुनुहुन्छ भने ६ वटा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरुले विचार राख्नुभएको बताउनुभयो । अब दुई वटा प्यारलल सेसनहरु सञ्चालन हुने र त्यसपछि काठमाडौं घोषणा पत्र जारी गर्ने बताउनुभयो ।
परराष्ट्रसचिव राईले जलवायु परिवर्तनको असर एउटा देशको प्रयासले मात्रै समाधान नहुनेतर्फ विश्व नेताहरुले विश्वको ध्यानाकर्षण गराएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्