२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


जलवायु कार्यमा हातेमालो गर्न विलम्व नगरौं : मन्त्री ठकुरी


260
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्बन आफूले सिर्जना नगरेको जलवायु संकटको सम्पूर्ण प्रहार नेपालले व्यहोर्नुपरेको बताउनुभएको छ ।

राजधानी काठमाडौं शुक्रबारबाट शुरु भएको ‘सगरमाथा संवाद’ मा बोल्दै मन्त्री ठकुरीले कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य हुँदाहुँदैपनि संकटको सामना गर्नुपरेको बताउनुभयो । उहाँले नेपालका साना किसान, महिला, आदिवासी, जनजाति, बालबालिका र वृद्धहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेको उल्लेख गर्नुभयो ।

मन्त्री ठकुरीले जलवायु सूचकहरुले खरताको सीमा पार गरिसकेको भन्दै जलवायु कार्यमा हातेमालो गर्न विलम्व गर्न नहुने बताउनुभयो । उहाँकाअनुसार जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानेल (आईपिसीसी) को छैटौं प्रतिवेदनले तापक्रम औसत दोब्बरभन्दा बढीले वृद्धि भइरहेको पुष्टि गरिसकेको छ । उहाँले बढ्दो तापक्रमका कारण हिमाल पग्लिने, हिमतालहरु फुट्ने भएको कारण हिममण्डहरु गम्भिर जोखिममा रहेको बताउनुभयो ।

जलवायु परिर्वतनको संकटका बीच जलवायु कार्य गर्नको लागि नेपाल सरकार प्रतिवद्ध रहेको मन्त्री ठकुरीको भनाइ छ । उहाँले जलवायु कार्यलाई राष्ट्रिय योजनामा समावेश गर्दै सरकारले न्यायसंगत दृष्टिकोण अंगालेको दाबी गर्नुभयो ।