१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिनू, गम्भीर परिणाम भोग्नुपर्ला : अध्यक्ष दाहाल


923
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिन सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले हजारौँ शिक्षकहरू सडकमा हुँदा पनि सरकारले शिक्षकहरूको समस्याको समाधानप्रति गम्भीर नभएको आरोप लगाउनुभयो ।

अध्यक्ष दाहालले शिक्षकका माग सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्रीले नै शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने र हप्काउने काम गर्नु लाजमर्दो भएको बताउनुभयो । उहाँले देशभरका लाखौँ शिक्षक र विद्यालयहरू सङ्कटमा रहँदा पनि सरकारले त्यसको सम्बोधनमा तत्परता र सक्रियता नदेखाउनु दुःखद् भएको बताउनुभयो ।

अध्यक्ष दाहालले शिक्षकहरूलाई अपमान गर्न बन्द गरेर तुरुन्तै घनिभुत तरिकाले वार्ता संवाद गरेर हल गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री हुँदा धेरै मेहनत गरेर विधेयकलाई सदनमा पु¥याएको बताउँदै उपसमितिमा छलफलमा रहेको विधेयकलाई टुङ्ग्याउन सरकारको खबरदारी समेत गर्नुभयो ।

अध्यक्ष दाहालले शिक्षकहरूसहित चिकित्सकहरू, नर्सहरू, लघुवित्त पीडितहरू महिनौँदेखि सडक आन्दोलनमा उत्रिएको बताउँदै उनीहरूका मागलाई तत्काल सम्बोधन नगरे सरकारले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो ।