
काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न नेपाल असफल भएको छ ।
आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल र अफगानिस्तानबीच आजको खेल वर्षाका कारण रद्द भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।
अर्को वर्ष जिम्बावे र नामिबियामा हुने १९ वर्षमुनिको विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने थियो । अफगानिस्तानलाई बराबरीले पनि पुग्थ्यो । तर हिजो बेलुकादेखि बिहानसम्म भएको वर्षाले मूलपानी मैदान भिजेर खेल सञ्चालन हुन ढिलाइ भएको थियो । ३० यार्ड सर्कलभित्रको मैदान सबै सुके पनि बाउन्ड्री लाइन छेउछाउको मैदान नसुकेका कारण म्याच रेफ्री तथा अम्पायरहरुले कम्तीमा २०-२० ओभरको खेल हुन पनि सम्भव नभएको बताउँदै खेल रद्द गरेका हुन ।
नेपाल र अफगानिस्तान पहिलो तीन खेल जितेर निर्णायक अवस्थामा आइपुगेका थिए । नेट रन रेटमा अफगानिस्तान अघि थियो । नेपाल, ओमान, यूएई अफगानिस्तान र हङकङ सहभागी यो प्रतियोगिता विजेता टोली १९ वर्षमुनिको विश्वकपमा पुग्ने व्यवस्था थियो । नेपालले यसअघि आठ पटक आईसीसी १९ वर्षामुनिको विश्वकप खेलिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्