Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


पूरक बजेटको सम्भावना नै नरहेको अर्थमन्त्री खतिवडाको दाबी


0
Shares

काठमाडौं, असोज २ । अर्थ मन्त्रालयले पूरक बजेटको सम्भावना नै नरहेको जनाएको छ ।

मंगलबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको अन्तरक्रियामा अर्थमन्त्री डा. युवराज खतिवडाले पूरक बजेटको तयारीका विषयमा सरकारले अहिलेसम्म कुनैपनि छलफल नगरेको बताए ।

‘चालू आर्थिक वर्षको बजेट कार्यान्वयन भएको अर्धवार्षिक समीक्षा भएको छैन । सरकारले यो विषयमा धेरै छलफल गरेको छैन’–उनले भने ।

यसअघि, नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पूरक बजेट ल्याएर लोकप्रिय कार्यक्रम घोषणा गर्ने बताएका थिए ।

पूरक बजेटबारे अर्थ मन्त्रालयले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेको हो ।

अर्थसचिव राजन खनालले पूरक बजेटबारे अहिले नै अनुमान नगर्न आग्रह गरे ।

पूरक बजेटबारे संविधानमा स्पस्ट व्यवस्था रहेको र सोही कानुनी व्यवस्थाअनुसार नै मन्त्रालय अघि बढ्ने उनले बताए ।

यस्तै, राजस्वसचिव शिशिरकुमार ढुंगानाले स्थानीय तहमा देखिएको करसम्बन्धी विवादबारे छिट्टै प्रतिवेदन तयार हुने बताए ।

अध्ययन समितिको सदस्यसमेत रहेका ढुंगानाले एक/दुई दिनमा नै प्रतिवेदन अर्थमन्त्रीलाई बुझाउने बताए ।

मन्त्री खतिवडाले यो वर्षका लागि कोटाअनुसारको चिनी आयात भइसकेकाले चिनी आयातमा पूर्णबन्देज गर्न लागेको जानकारी गराए ।

विश्व व्यापार संगठनको सिद्धान्तलाईसमेत हेरेर कोटा निर्धारण गरी परिणात्मक बन्देज लगाइएको उनले बताए ।