Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


खेलकुद क्षेत्रको बजेट कम छ : खेलकुदमन्त्री चौधरी


1.1k
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रका लागि कम बजेट आउने गरेको र यसपल्ट पनि पुरानै खेल बजेटको निरन्तरता हुने देखिएको बताउनुभएको छ ।

सानेपास्थित नेपाली कांग्रेस पार्टीको केन्द्रिय कार्यालयमा खेलकुद विभागको आयोजनामा भएको एक कार्यक्रममा खेलकुदमन्त्रीले चौधरीले नेपालको खेल क्षेत्र विकासका लागि आवश्यक पर्ने बजेट पाउने नसकिएको अवस्थामा आगामी वर्ष पनि पुरानै लगानीले निरन्तरता पाउने उल्लेख गर्नुभएको हो ।

मन्त्री चौधरीले यसपल्ट पनि साढे तीन अर्बभन्दा बढी बजेट नरहेको उल्लेख गर्दै त्यसमा पनि धेरै बजेट प्रशासनिक खर्च रहेको बताउनुभयो । कीर्तिपुरको टियु क्रिकेट मैदान वैशाख २४ गतेभित्र सकिने गरी काम भइरहेको मन्त्री चौधरीको भनाइ छ ।

मन्त्री चौधरीले मादक पदार्थ र सुर्तिजन्य वस्तुहरूमा खेलकुद पूर्वाधार निर्माणमा सहयोग पुग्नेगरी केही प्रतिशत कर लगाइदिए खेलकुद क्षेत्र विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस किसिमको व्यवस्था एक समय रहेकाले फेरि दोहो¥याउनुपर्ने उहाँको भनाइ छ ।

निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुद क्षेत्र पनि समावेश गरिनुपर्ने मन्त्री चौधरीले आवश्यकता औंल्याउनुभयो । खेलाडी र उनीहरूका छोराछोरीका लागि नीजि विद्यालयका छाता संस्थाहरू तयार रहेको पनि मन्त्री चौधरीले दाबी गर्नुभयो । जुन विद्यालय खेलकुद क्षेत्रतर्फ उत्तरदायी छ त्यो विद्यालयलाई ‘खेल विद्यालय’ को रूपमा सातै प्रदेशमा घोषणा गर्ने योजनामा रहेको मन्त्री चौधरीको भनाइ छ ।

मन्त्री चौधरीले विद्यालय तह र ग्रास रुटमा खेलकुदलाई समावेश गर्नसके नेपालको खेल क्षेत्र विकास सम्भव रहेको बताउनुभयो ।