१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


‘भूकम्पीय जोखिम न्युनिकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन’


325
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पीय जोखिम न्युनिकरणका लागि भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले इतिहासबाट पाठ सिक्दै अब बन्ने घर र संरचनाहरु भूकम्प प्रतिरोधि बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले विकास निर्माणका कार्यमा विपद्को जोखिमलाई नसोचि दिगो विकास सम्भव नभएको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले प्राकृतिक विपद्लाई दैवी इच्छाशक्तिको रुपमा लिने र विपद् आइसकेपछि मात्र गम्भिर हुने हाम्रो परम्परागत नीतिलाई विगतका भूकम्पहरुले ठूलो पाठ पढाएर गएको बताउनुभयो । उहाँले भूकम्पसम्बन्धी परपम्परागत मान्यता तोड्दै र कार्यशैली सुधार्दै जोखिम न्युनिकरणका लागि सचेत हुन जरुरी रहेको बताउनुभयो ।

बलियो भौतिक संरचना र सजगता अपनाउन सकेमात्रै भूकम्पबाट हुने क्षति न्युनिकरण गर्न सकिने उहाँको भनाइ छ ।