Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


जस्बिरेको चिया विश्व बजारमा


416
Shares

काठमाडौं । हरेक बिहान अधिकांश नेपालीका घरमा चिया पाक्ने गर्दछ । हामीले पिउने चिया आ–आफ्नै किसिमका छन् । हरेक तरिकाले फरक–फरक स्वाद चियामा पाउन सकिन्छ ।

इलाम भन्ने बित्तिकै चिया र चिया भन्ने बित्तिकै धेरैलाई इलामको सम्झना आउँछ । हरियो गलैंचा बिच्छ्याए झैं सुन्दर चियाबारी यो नै इलामको प्रमुख आकर्षण हो । युरोप, अमेरिका, चीनलगायतका ठाउँमा अढाई दर्जन बेग्लाबेग्लै नाममा पहिचान कमाइसकेको जस्बिरे टी उद्योगले बिब्ल्याँटेमा चियाको पसल नै राखेर चियाको स्वाद चाख्ने अवसर समेत जुराएको छ । जस्बिरे टी उद्योगका सञ्चालक शरद सुब्बा र चिया व्यवसायी गृष्म सुब्बाले विदेशमा महँगो दाममा निर्यात हुने उच्च गुणस्तरका चिया इलाम पुग्ने पर्यटकका लागि निशुल्क चिया चाख्ने् व्यवस्था मिलाएका छन् । इलाम नगरपालिका–४ को जस्बिरे टी प्रशोधन उद्योगमा बनाइने यी चियाको दाम सुन्दा धेरैलाई विश्वास नलाग्न पनि सक्छ । न्यूनतम १ हजार रुपैयादेखि अधिकतम ३५ हजार प्रतिकिलोसम्म चियाको मूल्य पर्ने गरेको छ । प्रशोधन केन्द्रमा स्वाद र गुणस्तर अनुसार फरकफरक प्रकारका चिया प्रशोधन गरिन्छ । चियाका प्रकारहरुका बारेमा जानकारी नभएका कारण प्राय चिया नेपालमा खपत नभई विदेशमा खपत हुने गरेको व्यवसायी गृष्म सुब्बाको भनाइ छ ।

इलाममा ब्ल्याक, ग्रीन, ह्वाइट, गोल्डेनलगायत गुणस्तरका तयारी चिया उत्पादन हुन्छन् । भरखरै काठमाडौंमा भएको कार्यक्रममा नेपालकै टप टी मेकर घोषित समेत हुनुभएको जस्बीरे टी प्रोसेसिङ इन्ड्रस्टिजका सञ्चालक शरद सुब्बा यो चिया कारखानाबाट उत्पादित चियाले स्वदेशी चिया पारखीलाई मात्र नभइ विदेशी मुलुकका चियाका पारखीहरुको मन समेत जितिरहेको बताउनुहुन्छ । नेपालबाट बर्सेनी झन्डै सात अर्ब रुपैयाँको तयारी चिया विदेश निर्यात हुन्छ । भारतबाहेक तेस्रो मुलुक निर्यात हुने अर्गानिक अर्थाेडक्स चियाको सबैभन्दा ठूलो हिस्सा चाहिँ इलामकै हुन्छ । यो वर्ष पनि विभिन्न देशबाट अर्गानिक अर्थाेडक्स चियाको माग धान्न नसकिने गरी आइरहेको जस्बीरे टी प्रोसेसिङ इन्ड्रस्टिजका सञ्चालक शरद सुब्बाको भनाइ छ ।

दिगो खेती भएकाले चियालाई स्थायी जागिर जस्तै ठानिन्छ । तराई र पहाडी क्षेत्रमै उत्पादन हुने चिया हजारौंको रोजीरोटीको माध्यम बनेको छ । बिरुवादेखि बगान हुँदै कपसम्म पुग्दा चियामा निर्भरको संख्या उल्लेख्य छ ।