Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


डिडिसीले किसानबाट संकलन गरेको दुध बिक्री नहुँदा रकम भुक्तानीमा समस्या


130
Shares

काठमाडौं । किसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ ।

संकलित दुध बिक्री नहुँदा भुक्तानीमा समस्या आएको दुग्ध विकास संस्थानले जनाएको हो ।

संस्थानले मुलुकभरका दुध वितरण केन्द्रबाट संकलन भएको दुध प्रशोधनपश्चात बिक्री नहुँदा चालु पुँजी र नगद प्रवाहमा समेत समस्या रहेको बताएको छ । १० लाख १५ हजार ५६५ केजी पाउडर दुध मात्र मौज्दात रहेको दुग्ध विकास संस्थान काठमाडौंका दुग्ध वितरण आयोजना प्रमुख गणेशकुमार यादवले बताउनुभयो ।

यस्तै, मख्खन ७ लाख ६७ हजार १४४ केजी मौज्दात रहेको जनाइएको छ । यसरी संस्थानसंग अहिले १ अर्ब ३५ करोड मूल्य बराबरको दुध मौज्दात रहेको यादवले जानकारी दिनुभयो । उहाँले दुधको लागि बजार बिस्तारको ठूलो सम्भावना भएपनि सबै ठाउँमा पु¥याउन नसकिएको बताउनुभयो ।

प्रमुख यादवले डिडिसीको दुध गुणस्तरको सुनिश्चितता भएकाले उपभोक्तामा लोकप्रिय रहेको बताउनुभयो । उहाँले दुध खरिद बिक्री र संकलनमा अस्वस्थ प्रतिष्पर्धा हुँदा समस्या आएको बताउनुभयो । उहाँले आयोजनासँग भएका मसिनहरु जिर्ण भएकाले पनि दुध प्रशोधनमा समस्या रहेको बताउनुभयो । उहाँले राजनीतिक हस्तक्षेपका कारण पनि संस्थानलाई चुनौती रहेको बताउनुभयो । उहाँले आयोजनासँग डेढ लाख लिटर क्षमताको दुध, ३ सय मेट्रिक टन मखन र ४ सय मेट्रिक टन पाउडर दुध भण्डारणको क्षमता रहेको बताउनुभयो ।

काठमाडौं दुग्ध वितरण आयोजनाको प्रशोधन क्षमता प्रतिघण्टा १५ हजार लिटर रहेको छ । दुध संकलनको कार्य क्षेत्र काठमाडौं, भक्तपुर,ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा र चितवन हुन् । २०६ सहकारी संस्था आवद्ध भएर १ लाख घरधुरीबाट दुध संकलन गरिने गरेको आयोजनाले जनाएको छ । औसत दुध संकलन ६५ देखि ७० हजार लिटर छ । सुख्खा सिजनमा ४० देखि ४५ हजार लिटर हुन्छ । दैनिक करिब ७० हजार लिटर दुध बिक्री हुने गरेको संस्थाले जनाएको छ ।