Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


काठको उपलब्धतालाई बिस्तार गर्नुपर्नेमा उपभोक्ताको जोड


91
Shares

काठमाडौं । ९ औँ नेपाल वुड अन्तर्राष्ट्रिय मेलामा पुगेका अधिकांश उपभोक्ताहरुले नेपालमा काठको उपलब्धतालाई बिस्तार गर्नुपर्र्नेमा जोड दिएका छन् ।

उनीहरुले नेपाली बजारमा काठजन्य सामग्री सहज रुपमा उपलब्ध हुन नसक्दा काठजन्य सामग्रीहरु भन्दा प्लाष्टिकजन्य सामग्रीहरुको प्रयोग बढी हुने गरेको बताए । उनीहरुले मेलामा नयाँ नयाँ डिजाइनका सामग्रीहरु देखिएपनि मूल्य महंगो भएको गुनासो गरे । उनीहरुले प्लाष्टिक भन्दा काठको प्रयोगमा बढी जोड दिनुपर्ने बताए ।

मेलामा पुगेका अवलोकनकर्ता अर्जुनप्रसाद पराजुलीले मेलामा नयाँ नयाँ प्रोडक्टहरु पाएको बताउनु भयो । उहाँले प्लास्टिकको सामान काठका जस्ता लामो समय टिक्ने र राम्रो नहुने भएकाले काठको बढी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै अवलोकनकर्ता प्रेम राईले पनि काठ महंगो भएपछि प्लाष्टिकको सामग्रीहरु किन्ने क्रम बढेकाले काठका सामग्रीहरुको मूल्यमा कम गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले प्लाष्टिक वातावरणीय हिसावले हानिकारक रहेको भन्दै जंगल बढाएर त्यहाँबाट काठहरु प्रयोग गर्न सक्नुपर्ने बताउनु भयो ।

त्यस्तै खिलप्रसाद सुवेदीको जंगलमा सडेका काठहरुको प्रयोग गरेर काठका सामानहरुको प्रयोग बढाउनुपर्ने भनाइ छ भने अनुज कुँवरले देशमा भएको जंगलबाट काठ प्रयोग गर्ने भन्दा पनि छुट्टै बिरुवाहरु रोपेर त्यसबाट काठजन्य सामग्रीहरु बनाउनु राम्रो र उचित हुने धारणा राख्नुभयो । उहाँले काठलाई घरसम्म ल्याएर उपयोग गर्नका लागि कानून नै बाधक रहेकाले सरकारले कानून सहज बनाउनुपर्ने बताउनु भयो । त्यस्तै उपभोक्ता शम्भुहरि बाँस्तोलाले राज्यको नीति काठमैत्री बन्नुपर्नेमा जोड दिनुभयो ।

पौष २० गतेबाट शुरु भएको मेला आइतवारसम्म चल्नेछ । मेलामा उपभोक्ता तथा अवलोकनकर्ताहरुको उपस्थिति उल्लेख्य रहेको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो ।

डिया स्पेस सोलुसन्स प्रा.लि. नेपाल र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि. भारतको संयुक्त आयोजनामा सञ्चालित मेलामा ८० कम्पनीहरुले १५० भन्दा बढी ब्राण्डका सामानहरु राखिएको छ । मेलामा नेपाल, भारत, चीन, मलेसिया, इटाली लगायत देशका कम्पनीका स्टलहरु रहेका छन् ।