काठमाडौं । टेरामक्स खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सांसदहरुले खरिद प्रक्रिया रोक्न माग गरेका छन् ।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरुले टेरामक्स खरिद प्रक्रियामा अनियमितता भएको धारणा व्यक्त गरेका हुन् । उनीहरुले यसको खरिद प्रक्रिया रोक्न माग समेत गरेका छन् ।
बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टेरामक्स खरिदको आशय र उद्देश्य स्पष्ट नभएको बताउनुभयो । उहाँले यसको सबै प्रक्रियाहरुमा आशंका गर्ने आधारहरु प्रशस्त भएको बताउनुभयो । उहाँले नियामक निकाय दूरसञ्चार प्राधिरण नै टेरामक्स किन्न तयार हुनुले आशंका उब्जाएको बताउनुभयो ।
नेकपा(एमाले)का सांसद गोकुल बाँस्कोटाले टेरामक्स प्रकरणको छानविन गर्न विज्ञ सम्मिलित छानविन समिति बनाउन सकिने धारणा राख्नुभयो । उहाँले टेरामक्स खरिद सम्झौता मन्त्रालयले समितिलाई दिनुपर्ने माग राख्नुभयो । लेबनानबाट खरिद गरेर साइप्रसमा पैसा तिर्नुपर्ने सम्झौता भएको भन्दै यसप्रति आशंका व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले टेरामक्स बेकारको प्रविधि भएको टिप्पणी गर्नुभयो । उहाँले लेवनान आफैँ असहज परिस्थितिमा रहेको भन्दै लेवनानबाट प्रविधि खरिद गर्ने सम्बन्धमा प्रश्न उठाउनुभयो । खरिदबिक्री अपारदर्शी भएको उहाँको भनाई छ ।
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले टेरामक्स खरिद प्रक्रिया कानुनसम्मत नभएको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको व्याख्या विपरित प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले कानून नबनाइकन टेरामक्ससँग सम्बन्धित कुनै प्रक्रिया अगाडी बढाउनु नहुने बताउनुभयो । उहाँले अन्य समितिहरुले लेखा समितिको क्षेत्राधिकार मिचेका पनि बताउनुभयो ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले टेरामक्स प्रकरणमा पैसाको लेनदेन अपारदर्शी भएको बताउनुभयो । उहाँले यो प्रकरणमा माफियाहरुले अख्तियार, अदालत र समितिलाई घुमाउने गरेको र उनीहरुले नै यो काम गर्ने गरेको बताउनुभयो ।
नेकपा(एकीकृत समाजवादी)का सांसद प्रेम आलेले नेपालमा टेरामक्स नचाहिएको बताउनुभयो । उहाँले यसको आवश्यकता नपरेको भन्दै खरिद प्रक्रिया यथास्थितिमा रोक्न माग गर्नुभयो । उहाँले छानविन समिति बनाएर छानविन गर्नुपर्ने पनि बताउनुभयो । उहाँले यसको प्रक्रियामा संलग्नहरुलाई समिति बैठकमा बोलाएर छलफल गर्नुपर्ने बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्