Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


बारुदी सुरुङमार्फत आफ्नो स्वार्थ पूर्ति गर्ने गतिविधि तत्काल अन्त्य गर्नुपर्छ : नेता गुरुङ


299
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बारुदी सुरुङ प्रयोग गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने गतिविधि तत्काल अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

विभिन्न व्यक्ति तथा स्वार्थ समूहहरुले अहिले पनि आफ्नो निजी स्वार्थ पूर्तिका लागि बारुदी सुरुङ प्रयोग गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसको अन्त्य गर्न सरकार र सबै राजनीतिक दलहरुलाई सचेत गराउनुभयो ।

बुधबार काठमाडौंमा आयोजित ‘संक्रमणकालिन न्यायमा बारुदी सुरुङ र विष्फोटक पदार्थका पीडितहरुको न्याय तथा माइन एक्सनमा समावेशिताको सवाल’ विषयक छलफल कार्यक्रममा बोल्दै नेता गुरुङले बारुदी सुरुङ प्रयोगको जस÷अपजस माओवादीले लिनुपर्ने बताउनुभयो । उहाँले आफूले निर्वाचनको बेला ठाउँठाउँमा बारुदी सुरुङको सामना गर्नु परेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताउनुभयो । मुलुक शान्ति प्रक्रियामा आएपनि त्यसको प्रयोग अझै पनि नेपाली समाजमा भईरहेकाले अन्त्यका लागि सबै सचेत रहनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. गंगालाल तुलाधरले बारुदी सुरुङलाई विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन ऐन २०७४ मा नसमेटिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । रोल्पामा हालै बारुदी सुरुङका कारण मानिसहरुको ज्यान गएको घटनाको उदाहरण दिँदै उहाँले त्यसलाई सम्पूर्ण रुपमा हटाउने कुरामा सबैले जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । बारुदी सुरुङ मानव निर्मित विपद् भएकाले यसबाट हुने जोखिमको अन्त्य गर्ने कुरालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उपमहासचिव तुलाधरले बताउनुभयो ।

उपमहासचिव तुलाधरले द्वन्द्वकालमा बिछ्याइएका बिष्फोटक पदार्थहरुको खोजी गरी त्यसको नष्ट गर्न ढिलाई गर्न नहुने पनि दोहोर्‍याउनुभयो ।