३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


विकास नीति संस्कृतिमैत्री हुनुपर्छ : मन्त्री किराँती


52
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले देशको विकास नीति संस्कृतिमैत्री हुनुपर्ने बताउनुभएको छ ।

बुधबार सांस्कृतिक संस्थानले आयोजना गर्न लागेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ घोषणा तथा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किराँतीले देशको विकास नीति संस्कृतिमैत्री हुनुपर्ने बताउनुभएको हो । उहाँले देशको विकास योजनाहरुमध्ये ५२ प्रतिशत विकासका योजनाहरु पूरा नहुनुको कारण सो योजना संस्कृतिमैत्री नहुनु रहेको बताउनुभयो । विकास नीति तथा योजनाहरु संस्कृतिमैत्री नभएका कारण विभिन्न ठाउँमा बाधा तथा अवरोधहरु हुने गरेको उहाँको भनाई छ ।

मन्त्री किराँतीले संघीय संस्कृति निर्माण गर्नको निम्ति संघीय संस्कृति नीति अध्ययन समिति बनाइएको बताउनुभयो । सो समितिले निर्माण गरेको प्रतिवेदनको आधारमा छिट्टै ऐन, कानून बनाउँदै जाने उहाँले बताउनुभयो । उहाँले संस्कृतिलाई उद्योगमा जोड्ने खालको नीति पनि तयार गर्नुपर्ने बताउनुभयो ।

मन्त्री किराँतीको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै सांस्कृतिक संस्थानले मंसिर २९ गते ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ आयोजना गर्ने जानकारी गराइएको छ । सांस्कृतिक पर्यटनको विकासमा टेवा पुर्‍याउन, नेपालको लोकसंस्कृतिलाई विश्वमाझ चिनाउन विदेशी पर्यटकलाई लक्षित गरी सो कार्यक्रम गर्न लागिएको सांस्कृतिक संस्थानले जनाएको छ । सांस्कृतिक कार्यक्रमबारे जानकारी दिँदै मन्त्री किराँतीले संस्कृतिलाई उत्पादन र उद्योगमा जोड्दै विदेशी पर्यटकहरुलाई एकै ठाउँमा देशको अनुहार देखाउने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले नेपाली संस्कृतिको प्रवद्र्धन गर्नका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सांस्कृतिक कार्यक्रममा नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने प्रस्तुतिहरु देखाइने जनाइएको छ । कार्यक्रममा सहभागिता जनाउनका लागि नेपाली नागरिकलाई ५ सय, टिमेकी मुलुक भारत र चीनका नागरिकलाई १ हजार र अन्य विदेशी नागरिकका लागि एक हजार पाँच सयको टिकटको व्यवस्था गरिएको बताइएको छ ।