१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


तिहारमा काठमाडौंको सुरक्षा व्यवस्था मजबुद बनाएका छौं : प्रहरी


156
Shares

काठमाडौं । तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ ।

दशैंंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम,चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्येनजर गरेर विशेष सुरक्षा प्रबन्ध मिलाएको काठमाडौं प्रहरीले जनाएको हो ।

आइतबार काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गर्नुभयो । उहाँले जथाभावी पटाका पड्काउँदा आगलागी हुने जस्ता घटना हुनसक्ने भन्दै त्यस्तो नगर्न पर्ने आग्रह गर्नुभयो । उहाँले लक्ष्मी पूजाका दिन बहुमूल्य गहरगहना प्रदर्शन नगर्न समेत अनरोध गर्नुभयो ।

काठमाडौं प्रहरी प्रमुख खत्रीले सुरक्षा प्रवन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको भन्दै प्रहरी २४ घण्टा नागरिकको सुरक्षाको लागि खटिरहेको बताउनुभयो । उहाँले सुरक्षा प्रबन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको बताउनुभयो । उहाँले काठमाडौंमा आफ्नो संस्कृति अनुसार खेल्ने देउसीभैलो खेल्नको लागि कुनै सिमित समय नतोकिएको बताउनुभयो ।

काठमाडौं प्रहरी प्रमुख खत्रीले प्रहरी र सुरक्षा समितिले काठमाडौंमा २४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला गरेको भन्दै कसैले समय तोकि अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । उहाँले प्रहरी २४ घण्टा सुरक्षा दिन तयार रहेको बताउनुभयो । महानगरका प्रमुख बालेन्द्र साहले १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा व्यवस्था गरिको भन्ने भनाईप्रति लक्षित गर्दै काटमाडौं प्रहरी प्रमुख खत्रीले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा प्रवन्ध महानगरपालिकाले गरेको भने पनि कानूनको शासन हुने देशमा कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताउनुभयो । उहाँले नागरिकहरुले कुनै उश्रृंखल क्रियाकलाप नगरी सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक रहेको बताउनुभयो ।

प्रमुख खत्रीले विशेष सुरक्षा योजना बनाएर रातिसम्म दैसीभैलो खेल्दा भिडभाड हुने र झगडा हुनसक्ने क्षेत्रमा प्रहरीहरुको बढी नै परिचालन गरिने बताउनुभयो । उहाँले भीडभाड र आर्थिक गतिविध हुनु क्षेत्रमा ड्रोनको प्रयोग गरेर कुनै घटना वा दुर्घटना नहुने गरी सुरक्षा व्यवस्था मिलाएको बताउनुभयो ।