
काठमाडौं । पछिल्ला बर्षदेखि मुलुकको अर्थतन्त्र निरन्तर ओरालो लाग्दै आएको छ । बाह्य क्षेत्र बलियो बन्दै गएपनि आन्तरिक अर्थतन्त्रमा सुधारको गुञ्जायससम्म देखिएको छैन ।
वित्तीय क्षेत्रमा तरलतामा सुधार आउँदा समेत कर्जाको माग बढ्न सकेको छैन । शेयर बजार ओरालो लागेको लागेकै छ । निजी क्षेत्र मनोबल घट्यो भनेर दुःखेसो गरिरहेको छ । व्यवसायिक चक्रमा समस्या देखिएको छ । नेपाल भ्रमणमा आएको आईएमएफ टोलीले समेत सम्भावनाका वाबजुद नेपालको अर्थतन्त्रले लय समात्न नसकेकोमा आश्यर्चचकित भएको फर्किएको छ । समस्या सम्बोधन गर्न आवश्यक कदम चाल्नुपर्ने अर्थमन्त्रालय र नियामक निकाय राष्ट्र बैंक नेतृत्व भने एक अर्कालाई आक्षेप लगाउने र दायित्व पन्छाउने काममै रमाएर बसेको भान हुन्छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बाह्य क्षेत्रमा उल्लेख्य सुधार आएको देखाएको छ । शोधनान्तर, विदेशी मुद्रा सञ्चितिमा राम्रै सुधार देखिएको छ । तर आन्तरिक अर्थतन्त्र भने उठ्न सकिरहेको छैन । निजी क्षेत्र इतिहासकै कमजोर मनोबलको अवस्थामा पुग्यौं भनेर रोइलो गरिरहेको छ ।
बजारमा माग बढ्न नसक्दा औद्यागिक उत्पादन खुम्चिएको छ । सम्भावनाका बावदुद निर्यात खुम्चिएको खुुम्चियै छ । व्यवसायिक चक्रमा समस्या उत्पन्न हुँदा सरकारी राजस्व प्रभावित भएको छ । यसले स्वयं सरकारसमेत अप्ठेरोमा परेको छ । यस्तो बेलामा सरकारले नीतिगत सहयोग गरेर हौसला मात्र बढाए धेरै भरथेग हुने निजी क्षेत्रको ठम्याई छ । सरकारले समस्या सहजीकरण हुन्छ, लगानी गर, भनेर भाषण गर्नुबाहेक व्यवहारमा केही नमारेको विश्लेषण हुन थालेको छ ।
पछिल्लो समय त झन् सम्बन्धित निकाय अर्थमन्त्रालय र राष्ट्र बैंक एक अर्कालाई दोषारोपण गर्नमै व्यस्त छन् । अर्थमन्त्री र गभर्नरबीचको बेमेल सतहमा नै आउन थालेको छ । आफ्नै सल्लाहकार निकायको नेतृत्वले भनेको मानेनन् भनेर अर्थमन्त्रीले खुलेरै बोल्न थाल्नुभएको छ । गभर्नरले पनि सार्वजकिक कार्यक्रममै घुमारो पाराले अर्थमन्त्रीलाई जवाफ फर्काउने गर्दै आउनुभएको छ । दुई निकायबीचको व्यक्तिको टकरावले अर्थतन्त्रमा पर्नसक्ने प्रभावबारे विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद स्वर्णीम वाग्ले उद्योग धन्दा धरासायी बन्नु,चाहडबाहडका बेला बजारमा चहलपहल नदेखिनु अर्थतन्त्रको राम्रो संकेत नभएको बताउनुहुन्छ ।
व्यक्तित्वको टकरावले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउन नहुनेमा नेपाल राष्ट्रबैकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीको जोड छ ।वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय अभावले अर्थतन्त्र प्रभावित हुन नहुनेमा सरोकारवालाहरुले जोड दिंदै आएका छन् ।
अर्थतन्त्रले लय गुमाउँदा हालत के हुने रहेछ भनेर हामीलाई श्रींलंकाली अर्थतन्त्रले पाठ सिकाई सकेको छ । अर्थतन्त्र रहेमात्र हामी सबै रहन्छौ । यसैले व्यक्तिगत इगो छाडेर सबै निकाय अर्थन्त्रका समस्याप्रति गम्भीर हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्