
अक्कल कुँवर/दिलिप पोखरेल (इमेज)
काठमाडौं, भदौ २५ । सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति सार्वजनिक गर्ने विषयमा सांसदहरु विभाजित देखिएका छन् ।
वैयक्तिक गोपनीयताको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको छलफलकाक्रममा सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयमा सांसदहरु विभाजित देखिएका हुन् ।
सार्वजनिक पद धारण गरेका व्यक्तिको धेरै विषय गोप्य राख्नेगरी ल्याइएको वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकमा रहेको सम्पत्ति सार्वजनिकसम्बन्धी दफामा सांसदहरु विभाजित देखिएका हुन् ।
विधेयकको दफा १० को ३ मा सम्बन्धित व्यक्तिको मन्जुरीबिना सम्पत्ति विवरण कसैलाई जानकारी दिन वा सार्वजनिक गर्न/गराउन नपाउने प्रावधान छ ।
दफावार छलफलकाक्रममा सांसदहरु शेरबहादुर तामाङ, अमरेशकुमार सिंह, प्रेम सुवाललगायतका सांसदले पारदर्शिता र भ्रष्टाचार अन्त्यका लागि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति विवरण अनिवार्यरुपले सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
तर, केही सांसदले भने सम्पत्ति विवरण सार्वजनिक गर्नेगरी विधेयक पास भए संविधानको धारा २८ मा व्यवस्था गरिएको व्यक्तिको गोपनीयतासम्बन्धी व्यवस्थाको उल्लंघन हुने जिकिर गरेका छन् ।
सांसदहरु कृष्णभक्त पोखरेल, दिव्यमणि राजभण्डारी र नवराज सिलवाललगायतका सांसदहरुले भने सुरक्षा ‘थ्रेट’ र संविधानको प्रतिकूल हुनेगरी व्यक्तिको सम्पत्ति सार्वजनिक गर्ने व्यवस्था गर्न नहुने तर्क गरेका छन् ।
विधेयकको दफा ११ को ३ ले सार्वजनिक निकायमा रहेका कुनैपनि व्यक्तिको शैक्षिक प्रमाणपत्र, नागरिकता, बैंक खाता, धितोपत्र, लालपुर्जा सवारी–साधनजस्ता सामग्री सार्वजनिक गर्न लगाएको रोकको सम्बन्धमा पनि सांसदबीच मतभेद छ ।
कतिपय सांसदहरुले राज्यको तलब–सुविधा लिने सम्पूर्ण व्यक्ति, ठूला उद्योगी–व्यवसायीमात्र नभइ संविधान तथा प्रचलित कानुनबमोजिम गठित, निर्वाचित वा मनोनीत तथा राजनीतिक दलका पदाधिकारीलाईसमेत सार्वजनिक जवाफदेही पदकारुपमा व्याख्या गर्नुपर्ने मत राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्