२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


इन्द्रजात्रामा मात्रै नाचिने ‘मजिपात लाखे’


1.3k
Shares

काठमाडौं । नेवार समुदायको सांस्कृति पहिचानको महत्वपूर्ण पक्ष लाखे पनि हो । हेर्दा डरलाग्दो देखिने लाखेलाई राक्षस वा दैत्यको रूपमा पनि प्रस्तुत गर्ने गरेको पनि पाइन्छ । समाज, समुदाय र बालबालिकालाई भूत प्रेतबाट जोगाउने शक्तिशाली देवताको रुपमा समेत पुजिने लाखेनाच विभिन्न थरीका छन् । त्यसै मध्यको मजिपात लाखेनाच भने इन्द्रजात्राको अवसरमा मात्रै नचाउने गरिन्छ ।

लाखे नेवार समुदायको साँस्कृति पहिचानको महत्वपूर्ण पक्ष हो । नेवार समुदायका अधिकांश पर्वहरुमा लाखे नाच प्रस्तुत गर्ने गरिन्छ । जहाँ जहाँ नेवार समुदाय पुगेका छन् त्यहाँ लाखे सँस्कृति पनि सँगसँगै पुगेको छ । लाखे नाचहरु पनि विभिन्न थरीका हुने गर्दछन् । त्यसै मध्येको एक हो मजिपात लाखे । इन्द्रजात्राको अवसरमा यो लाखेनाच प्रस्तुत गर्ने गरिन्छ ।

जैसीदेबलस्थित लाखेघरबाट विधिपूर्वक पूजाआजा गरी निकालिने लाखेलाई सोही टोलमा केहीबेर नचाएर टोल टोलमा घुमाउने चलन रही आएको छ । इन्द्रजात्राको अवसरमा देखाइने यो लाखे नाच अन्तध्र्यान भएका तलेजु भवानीलाई खोज्दै हिँडेको कथासंग जोडिएको छ । समय क्रमसँगै यो लाखे नाचमा पनि परिवर्तन भने आएको छ ।

विगतमा राक्षसी स्वभावको लाखे भन्ने गरिए पनि अहिले यो लाखेलाई भैरबको एक रूपमा पुज्ने गरिन्छ । विगत १८ वर्षदेखि मजिपत लाखेको भूमिका निर्वाह गर्दै आउनु भएको छ, गगन बज्राचार्य । अरु लाखेले जिउँदो कुखुराको रगत चुस्ने गरे पनि मजिपात लाखे अर्थात गगन बज्राचार्यले काँचो अण्डा पनि नखाने बताउनुहुन्छ । अरु बेला सामान्य लाग्ने गगन, लाखेको पहिरनमा भने डरलाग्दो रुपमा प्रस्तुत हुन्छन् ।

यसैपनि इन्द्रजात्रा गर्मी मौसममा पर्ने भएकाले लाखे बन्दा निकै गर्मी हुने बताउने बज्राचार्य आफनो शरीरले दिएसम्म लाखे बन्ने बताउनुहुन्छ । भैरबलाई पुज्नुको अर्थ आफूलाई संहारको प्रकियाबाट जोगाउनु अर्थात रक्षा गर्नु हो ।

लाखेले बालबालिकाको संरक्षणको दायित्व लिने हुनाले नेवार समुदायमा लाखेलाई एक शक्तिशाली देवताको रूपमा पनि पुज्ने गरिन्छ । लाखेनाच समाज, समुदाय र परिवारमा भूतप्रेतले दुख नदेओस र दिवंगत आत्माहरुले दुःख नपाउन भन्ने कथाहरुसँग जोडिएको पाइन्छ ।