काठमाडौं । सरकारले संक्रमणकालीन न्याय सम्बन्धित विधेयकहरुमा सहमति जुटाउने प्रयास थालेको छ ।
सत्य निरुपण तथा मेल मिलाप आयोग तथा बेपत्ता नागरिक छानबिन सम्बन्धि ऐन संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी एमाले तथा सभामुखसँगको छलफललाई तीब्र बनाउनु भएको हो ।
सभामुख देवराज घिमिरेसँग छलफल गरेलगत्तै प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको हो । आफू राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जानु अघि नै सहमति जुटाउने हतारोमा प्रधानमन्त्री दाहाल रहे पनि एमाले अध्यक्ष ओलीले भने संशोधन विधेयक अध्ययनका लागि समय चाहिने जवाफ दिनुभएको बुझिएको छ ।
भेट वार्तामा कांग्रेस सभापति देउवाले पनि टीआरसीमा सहमति गरेर जान ओलीलाई आग्रह गर्नुभएको थियो । ओलीले टीआरसीमा प्रस्ताव गरिएका केही बुँदामा सुधार गर्नुपर्ने बताउनु भएको बुझिएको छ ।
दलहरुबीच सहमति नजुटेका कारण प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले गठन गरेको संसदीय उपसमितिको म्याद सात दिन थप गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्