
काठमाडौं, भदौ २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा दुई देशबीच भएका पुराना सम्झौता कार्यान्वयनको विषयमा गम्भिर छलफल भएको बताएका छन् ।
चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किएका दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू दुई तिहाई बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न भारत गएको दाबी पनि गरे ।
‘प्रायः उच्च तहमा लामो छलफल गर्ने अवसर कहीँ कतै मिल्दैन तर यसपाली त्यस्तो अवसर मिल्यो,’ उनले भने, ‘मोदीजीसँग नेपाल–भारत सम्बन्धका विविध आयामका बारेमा विस्तृत रुपमा असाध्यै सकारात्मक कुराकानी भयो । यसले धेरै राम्रो सन्देश प्रवाह भएको छ ।’
भारतमा भएका उच्चस्तरीय भेटवार्तामा डुबान समस्या, विराटनगरस्थित महावाणिज्य दुतावास बन्द र आगामी दिनमा दुवै देशले चाल्नुपर्ने कदमका विषयमा छलफल भएको उनले जानकारी दिए । अर्को एक प्रसंगमा दाहालले आवश्यकता अनुसार सरकारले पुरक बजेट ल्याउन सक्ने पनि बताए ।
भ्रमणका क्रममा अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्