Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


३५ अर्ब लागत अनुमान गरिएको तामाकोसी आयोजनाको ‘लागत ७० अर्ब पुग्ने’


0
Shares

काठमाडौं, भदौ २३ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तामाकोसी जलविद्युत् आयोजनाको लागत ७० अर्ब रुपैयाँ पुग्ने बताएका छन् ।

३५ अर्बको लागत अनुमान गरिएको तामाकोसी आयोजना निर्माणमा ढिलाइ हुँदा ब्याजमात्रै दैनिक एक करोड बढ्ने उनको भनाइ छ ।

विद्युत् प्राधिकरण पूर्वकर्मचारी समाजले शनिबार राजधानीमा गरेको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले आयोजनाका लागि लिएको रकमको ब्याजमात्रै १८ देखि २० अर्ब रुपैयाँ पुग्ने बताए ।

भूकम्पका कारण आयोजना निर्माणमा ढिलाइ भएपनि आयोजनाको वित्तीय व्यवस्थापनका कारण पनि लागत बढ्ने उनको भनाइ छ ।

उनले सान्जेन, रसुवागढी र भोटेकोसी जलविद्युत् आयोजना ढिलाइ भएपनि लागत भने नबढ्ने बताए । यी आयोजना बढीमा डेढ वर्षमा सम्पन्न हुने उनको भनाइ छ ।

त्रिशूली थ्री ए, चमेलिया र कुलेखानाी आयोजना पनि छिट्टै बन्ने उनले बताए ।

विद्युत् वितरण प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउन आवश्यक रहेको भन्दै उनले प्रसारणलाइन र सब–स्टेसन निर्माण मुख्य चुनौती रहेको बताए ।

प्राविधिक समस्याका कारण बेलाबेलामा विद्युत् आपूर्ति अवरुद्ध भएको भन्दै उनले यसलाई पुनः लोडसेडिङ भयो भन्ने नठान्न पनि आग्रह गरे ।

कार्यकारी निर्देशक घिसिङले बंगलादेशसँग १५ सय मेगावाटको दीर्घकालीन पीपीए गर्ने तयारी दुई देशले गरिरहेको जानकारी पनि गराए ।

बंगलादेशले सन् २०४० सम्म ९ हजार मेगावाट विद्युत् नेपालबाट लैजाने सहमति गरेको उनले जानकारी गराए ।