
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडी बढाउने बताउनुभएको छ ।
शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिक उत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रियालाई अगाडी बढाइने बताउनुभएको हो ।
उहाँले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कुनै ‘मेघा प्रोजेक्ट’ अगाडी बढाउने सपना देखेको उल्लेख गर्दै सोही सपनाको रुपमा कर्णाली चिसापानी जलविद्युत आयोजनालाई लिएको बताउनु भयो । उहाँले सो आयोजनाको ठोस रुपमा अध्ययन प्रक्रिया अगाडी बढाइएको बताउनुभयो ।
त्यसैगरी १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त परियोजना पनि अगाडी बढाउने सोच र योजनाका साथ सरकार लागिपरेको बताउनुभयो । प्रधानमन्त्री दाहालले आन्तरिक विद्युत खपतको वृद्धि गर्दै र विद्युत निर्यातका लागि स्पष्ट लक्ष्यका साथ अगाडी बढिरहेको बताउनुभयो ।
प्रधानन्त्री दाहालले सरकारले ऊर्जा संरचनाको निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले सरकारले नयाँ विद्युत ऐन र अन्य आवश्यक नीति, निर्देशिका ल्याउन कुनै कसर बाँकी नराख्ने पनि स्पष्ट पार्नुभयो । उहाँले नेपालले ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमा पनि ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले ग्रिन हाइड्रोजन सम्बन्धी नीति जारी गर्ने पनि जानकारी दिनुभयो ।
प्रधानन्त्री दाहालले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्याउनेगरी विद्युत प्राधिकरण लागिपरिरहेको बताउनुभयो । उहाँले सरकारले विद्युतीय सवारी साधन र विद्युतीय चुल्होमा प्रोत्साहन गरिरहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले विकासका काममा राजनीति नगरी सबै एकजुट हुनुपर्ने बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्