नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को औचित्य र प्रभावकारिताबारे अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले यस्तो बताउनुभएको हो । उहाँले निफ्रामाथि प्रश्न उठाउँदै निफ्राको प्रगतिका विषयमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नियमित रहेका वाणिज्य बैंकहरुले मात्रै पूर्वाधार क्षेत्रमा लगानी नपुग्ने भएकाले निफ्रा जस्ता बैंकहरु स्थापना गरिएको बताउनुभयो
उहाँले निफ्राको उद्योग क्षेत्रमा लगानी कति गर्यो र लगानीको प्रभावले उद्योग क्षेत्रमा पारेको असरको विषयमा अध्ययन गर्न आवश्यक देखिएको बताउनुभयो । मुख्यसचिव अर्यालले सरकार र निजी क्षेत्र दुई वटा कै लगानी आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय बैंकको ब्याजदरको विषयमा धेरैको ध्यान गएको भन्दै राष्ट्र बैंकले स्प्रेड र पोलिसि रेट घटाएकाले बिस्तारै ब्याज घट्ने र सहज वातावरण सिर्जना हुने अवस्था देखिएको बताउनुभयो ।
मुख्यसचिव अर्यालले सरकार र निजी क्षेत्रबीच नियमित छलफल गरी निजी क्षेत्रको वास्तविक समस्या यकिन गरी सरकारलाई प्रष्टसँग राख्न सक्नुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक क्षेत्रले मात्रै गरेर मुलुकमा औद्योगिक विकास हुन नसक्ने बताउनुभयो । उहाँले ३० वर्ष पहिले सरकारले स्वीकार गरेको विषय अहिले पनि केही फरक नआएको भन्दै औद्योगिक विकास गर्न निजी क्षेत्र पनि आवश्यक रहेको बताउनुभयो ।
मुख्यसचिव अर्यालले राजश्व परिचालमा कमजोर रहेकाले सरकारबाट धेरै अपेक्षा गर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीको रकम भुक्तानीदेखि पहाडी क्षेत्रमा पुँजी परिचालन समेत गर्न नसकेको बताउनुभयो । उहाँले बजेट कार्यान्वयनमा निजी क्षेत्रले दवाब दिनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्