Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


सरकारी वकिलको रोहबरमा नेपाल र भट्टराईसँग बयान लिइने


2k
Shares

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान सरकारी वकिलको रोहबरमा लिइने भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिल राखेर उनीहरूसँग बयान लिने तयारी गरेको हो। पूर्वप्रधानमन्त्री नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किएपछि सिआइबीले बयानको तयारी थालेको हो। सरकारी वकिलको कार्यालयले करिब एक साताअघि नै मुद्दाका लागि दिन ताकेता गरिरहेका बेला सिआइबीले उनीहरूसँग बयान लिएर मुद्दा बुझाउन लागेको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले बयान लिने काम अनुसन्धान अधिकारीहरूको रहेकाले प्रहरी प्रधान कार्यालयले त्यसमा सरोकार नराखेको बताए। ‘अनुसन्धान अधिकारीहरूलाई सम्पूर्ण अधिकार दिइएको छ। उनीहरूले अनुकूलतामा बयान लिनेछन्। त्यसमा सरकारी वकिल सहभागी हुन सक्छन्। सरकारी वकिलको कार्यालयमा हुन सक्छ, सिआइबीकै कार्यालयमा पनि हुन सक्छ वा अन्य स्थानमा पनि हुन सक्छ। यसमा अनुसन्धान गर्ने जो व्यक्ति छन्, उनीहरूले समय र स्थान निर्धारण गर्नेछन्,’ प्रहरी प्रवक्ता कडायतले भने, ‘यसमा प्रहरी प्रधान कार्यालयको कुनै सरोकार र सम्बन्ध छैन, सबै अधिकार सिआइबीलाई छ।’

गत सोमबार सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पिरामिड शैलीको अनुसन्धान गर्न निर्देशन दिएपछि सिआइबीले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँग बयान लिने तयारी गरेको थियो तर, पूर्वप्रधानमन्त्री नेपाल विदेश गएकाले रोकिएको थियो। किर्ते तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको सिआइबीले ललिता निवास जग्गा प्रकरणमा ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि अहिलेसम्म १९ जना मात्रै हिरासतमा छन्।

पूर्वप्रधानमन्त्री नेपाल सोमबार स्वदेश फर्केपछि अनुसन्धानमा सहयोग गर्ने र आफूले कुनै पनि गल्ती नगरेको बताएका थिए। त्यसैगरी यस प्रकरणमा मुछिएका अर्का पूर्वप्रधानमन्त्री भट्टराईले पनि अनुसन्धानमा सहयोग गर्ने बताइसकेका छन्।

यो सामाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।