Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


कांग्रेस संस्थापन दाहालतिर इतर पक्ष ओलीतिर


5.3k
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसमा सुन तस्करी छानबिनका विषयमा मतभिन्नता देखिएको छ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा सांसदहरू गुटगत आधारमा प्रस्तुत भएका छन्। सभापति शेरबहादुर देउवा निकट सांसद तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय समिति गठनको विपक्षमा उभिएका छन्।

तर, संस्थापन इतर सांसद सरकारको कार्यशैलीप्रति आशंका व्यक्त गर्दै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने पक्षमा देखिएका हुन्।

कांग्रेस संस्थापन इतर सांसद प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गरेजस्तै उच्चस्तरीय छानबिन समिति गठनको पक्षमा उभिएका छन्। बैठकमा नेता शेखर कोइरालासहित जीवन परियार, चन्द्र भण्डारी, सञ्जय गौतम, रामकृष्ण यादव, सीता मिजारलगायतले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने धारणा राखेका छन्।

नेता कोइरालाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाएर गहिरो छानबिन गर्नुपर्ने आवश्यकता औंल्याए। प्रमुख प्रतिपक्षी एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संघीय संसद्का बैठक अवरुद्ध गर्दै आएको छ।

यसै सन्दर्भमा कोइरालाले संसदीय दलको बैठकमा उच्चस्तरीय समिति गठनको विकल्प नभएको धारणा राखेका हुन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।