Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


संघियता बारे नकारात्मक टिप्पणी नगरौं : मन्त्री मोदी


78
Shares

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय सरकरले गरेका केहि कमीकमजोरीलाई लिएर संघियता बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नु भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै सङ्घीय मामिला मन्त्री मोदीले प्रदेश सरकार वा स्थानीय सरकारले काम गर्ने शिलशिलामा भएका कमजोरीले संघियता कमजोर नहुने बताउनुभयो । व्यवस्था र परिस्थिति सबै नयाँ भएको र अनुभव पनि नभएको अवस्थामा कमजोरी हुनु स्वभाविक रहेको मन्त्री मोदीले बताउनुभयो ।

मन्त्री मोदीले केहि व्यक्ति र समूह संगठित रुपमा साना साना कमजोरीलाई देखाएर व्यवस्था कमजोर बनाउन लागि परेको पनि बताउनुभयो । पछिल्लो समयमा केहि राजनैतिक पूर्वाग्रह राख्ने व्यक्तिहरुले प्रधानमन्त्रीलाई पनि मुछ्ने प्रयास गरेको बताउनुभयो । स्थानीय तह, प्रदेश र संघको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भैसकेकोले विगतको अनुभव र कमजोरीहरु अहिलेको लागि मार्गदर्शक हुनेहुँदा नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नुभयो ।

यस्तै, कार्यक्रममा संघिय मामिला मन्त्री मोदीले धेरै ठूलो दबाबको सामना गरेर काम गर्नु परेको बताउनुभयो । काठमाडौं उपत्यका भित्र वर्षौं देखि बसिरहेका (मन्त्रीको भाषामा अखडा जमाएर बसेका) कर्मचारीहरुलाई उपत्यका बाहिर पठाएको जिकिर गर्नुभयो । काठमाडौं उपत्यका बाहिर कहिल्यै नगएकाहरु अहिले बाहिर जानु परेपछि फर्किन निरन्तर दबाब दिइरहेको बताउनुभयो । बाहिर गएका कर्मचारीले मन्त्रिलाई दबाब दिन नकारात्मक समाचार पनि लेखाएको बताउनुभयो । मन्त्री मोदीले इतिहासमा कसैले नगरेको काम आफुले गरेको ठोकुवा गर्नुभयो ।

मन्त्री मोदीले अहिले धेरै क्षेत्रमा नवीन र उदाहरणीय काम सुरु भएको र संघीयता कार्यान्वयनको अबको दोस्रो चरण पहिलोभन्दा परिवर्तनकारी, अर्थपूर्ण रहने बताउनुभयो । आगामी दिनमा जनमानसमा रहेको संघीयताप्रतिको संशय पनि हट्ने विश्वाश गर्नु भयो ।