Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


नेपालकै पहिलो ‘आर्कब्रिज’ निर्माणमा किन ढिलाइ ? कहिले सकिन्छ ? (भिडियो)


0
Shares

मीरा बस्नेत/नवीन स्थापित (इमेज)

काठमाडौं, भदौ २२ । काठमाडौंमा निर्माणाधीन चारओटा ‘नेटवर्किङ आर्कब्रिज’ निर्माणको काममा ढिलाइ भएको छ ।

बिजुलीबजारस्थित धोबीखोला र तीनकुनेस्थित वाग्मती नदीमाथि निर्माण गर्न थालिएका पुल सरकारी प्रक्रिया पूरा गर्नै समय लागेपछि समयमै सम्पन्न हुन नसकेका हुन् ।

सडक विभागले वि.सं. २०७१ साल पुसमा वाग्मती र धोबीखोलामा नेपालकै पहिलो र नमुना आर्कब्रिज बनाउने जिम्मा पप्पु कन्स्ट्रक्सन र जेई कन्स्ट्रक्सनलाई दिएको थियो ।

वाग्मतीमा दुईओटा पुल बनाउन २१ करोड रुपैयाँमा ठेक्का लिएको पम्पु कन्स्ट्रक्सनले गत असार १५ गतेसम्म पुल निर्माण गरिसक्नुपर्नेमा अहिले २० प्रतिशतमात्र काम सम्पन्न गरेको छ ।

त्यसैगरी, धोबीखोलामा पुल निर्माणको जिम्मेवारी पाएको जेई कन्स्ट्रक्सनले ४५ प्रतिशत काम सकाएको छ । जेई कन्स्ट्रक्सनले गत पुसमै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो ।

अहिले भइरहेको पुलको आसपासमा दुईओटा पुल निर्माणको काम सुस्त गतिमा भएपछि सडक विभागले फेरि म्याद थप गर्ने तयारी गरेको छ ।

धोबीखोलामाथि अहिले एकातर्फको पुलको काम करिब सम्पन्न हुनै लागे पनि अर्कोतिरको बनाउन कुनै सुरसार गरिएको छैन । पुल निर्माण गर्न विभागले १३ करोड रुपैयाँमा ठेक्का दिएको हो ।

सडक विभागका प्रवक्ता मुक्ति गौतमले पुल डिजाइनका लागि ६ महिनाको समय लाग्ने अनुमान गरिएपनि दुई वर्ष लागेकाले काममा ढिलाइ भएको बताए ।

उनले दुवै स्थानमा खानेपानी, ढल र बिजुलीका पोल व्यवस्थापन गर्नसमेत समय लागेको बताए ।

नयाँ प्रविधिको प्रयोग, दक्ष जनशक्तिको अभावलगायतले तोकिएको समयमा काम सम्पन्न हुन नसकेको विभागको भनाइ छ ।

अधिकांश समस्या समाधान भइसकेकाले आगामी एक वर्षभित्रै चारओटा पुल निर्माण भइसक्ने विभागले जनाएको छ ।

विभागले उपत्यकाबाहिरका अरु ८ स्थानमा पनि यस्तै आर्कब्रिज बनाउने योजना बनाएको छ ।

नयाँ प्रविधिको प्रयोग गरी आकर्षक पुल निर्माणपछि सडकको शोभा बढ्नेमात्र होइन, पर्यटकलाईसमेत आकर्षित गर्ने सरकारी अधिकारीहरुको अपेक्षा छ । 

भिडियो हेर्नुहोस्